देवदह । देवदह नगरपालिकाको वडा नं ५ ले कुकुरलाई सार्वजनिक स्थानमा दिसा गराए ५०० र भोला खाएर जथाभावी खोल फाले ५० रुपैयाँ जरिवाना गर्ने भएको छ । शनिबार बसेको बाताबरणमैत्री वडा स्तरीय समितिको बैठकले वडाको सौन्दर्यकरण र फोहोर व्यवस्थापन सम्बन्धि निर्णयमा सार्वजनिक स्थानमा फोहोर गर्नेलाई नगद जरिवाना हुने व्यवस्था गरेको हो ।
बैठक पछि सेतोमसीसंग कुरा गर्दै नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेले बैठकले भाद्र ५ गते बिहान ६:३० बजे खैरेनी चोकबाट बृहत फोहोर वर्गीकरण अभियान संचालन गर्ने, फोहोर वर्गीकरण र सरसफाइमा सबै संघसंस्थालाई सहभागीताको लागि आव्हान गर्ने र हरियाली प्रवर्द्धनका कार्यक्रम संचालन गर्ने निर्णय भएको बताए ।
"वडाको सौन्दर्यकरण र फोहोर व्यवस्थापनमा हामी सबैको साथ लिएर अघि बढ्न चाहान्छौं ।" उनले भने, "त्यसको लागि गल्ती गर्नेलाई नगद जरिवाना नै गरेर भएपनि सार्वजनिक फोहोर व्यवस्थापनमा हामी काम गर्छौं । सबै संघ संस्था र आम वडावासीको सहयोगमा सफा र सुन्दर वडा बनाउने हाम्रो अभियान हो ।"
सडक र पार्कको सौन्दर्यकरण गर्न संघसंस्था परिचालन
वडाले सडक र पार्कको सौन्दर्यकरण गर्न संघसंस्था परिचालन गर्ने निर्णय गरेको छ । जस अनुसार वडाभित्र रहेका विद्यालय र क्रियाशील संघसंस्थालाई तोकेरै कामको जिम्मा दिने वडाको निर्णय छ । टोलटोलमा सचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको बाताबरणमैत्री समितिले बैकुण्ठनगरमा रहेको बैकुण्ठनगर पार्कको सौन्दर्यात्मक कार्यको लागि रोटरी क्लब अफ देवदहसंग सहकार्यको प्रस्ताव गर्ने निर्णय समेत गरेको जनाइएको छ ।

वडा सडकको सौन्दर्यकरण र हरियाली प्रवर्धनका लागि स्थानीय विद्यालय र संघसंस्थालाई मुख्य जिम्मेवारी सुम्पिएको छ । जस अनुसार सडकको दायाँ बायाँ दुवैतर्फ वृक्षरोपण गर्ने जिम्मेवारी निम्नानुसार रहेको वडाले जनाएको छ ।
| सौन्दर्यकरणको लागि दायाँ बायाँ दुवैतर्फ वृक्षरोपण हुने सडक | जिम्मेवारी लिएका संस्था |
| खैरेनी चोकबाट न्यु लुम्बिनी स्कुलसम्म | न्यु लुम्बिनी स्कुल |
| न्यु लुम्बिनी स्कुलबाट देवदह -६ बुद्ध पार्कसम्म | देवदह बुद्ध पब्लिक स्कुल |
| श्री चोकदेखि युगज्योती माविसम्म | युगज्योती मावि |
| मितेरी गाउँ मुल सडक | देवदह मदरटङ्स एकेडमी |
| प्रगती बजारदेखि देवदह नगरपालिका जाने प्रगति केन्द्रसम्म | केरवानी मावि |
| लोकेश्वर मन्दिर, ॐ शान्ती, बुद्ध बिहार हुँदै पानबारी खेल मैदानसम्म | देवदह बौद्ध बिहार देवदह |
| पानबारी खेलमैदानदेखि वडा कार्यालय, लायन्स आँखा अस्पताल, दुर्गा मन्दिरसम्म | लायन्स क्लब अफ देवदह, लगायतका संस्था |
बैठकमा वडा नं ५ का जनप्रतिनिधिहरू संगीता सुनार, साबित्रा पौडेल, केरवानी माविका प्रधानाध्यापक निर्मल ढुङ्गाना, बुद्ध सामुदायिक वनका अध्यक्ष टोक बहादुर रान, न्यु लुम्बिनी इ. बो स्कुलका प्रधानाध्यापक विनोद थापामगर, देवदह बुद्धपब्लिक आवासीय माविका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारी, देवदह प्रहरी प्रमुख एक्क बहादुर नेपाली, रेडियो देवदहका कार्यकारी प्रमुख दिपक न्यौपाने, नेपाल मगर संघ देवदह ५ अध्यक्ष नारायण श्रीस मगर, वडा सचीव प्रदिप प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology