देवदह । बिहानको साढे ७ बजेको छ । सिरसिर बतास यसरी चलेको छ, लाग्छ यसले मान्छेहरूलाई चार्ज गरिरहेको छ र दिनभरीलाई पुग्नेगरि मान्छेमा उर्जा भरिरहेको छ। यहि रमाइलो मौसमसंग मितेरी गाँस्दै सयौं नागरिकहरू एकसाथ, एउटै उद्देश्य सहित लम्बे अभियानमा जुटेका छन्।
बालबालिकादेखि जेष्ठ नागरिकसम्म सबैको हातमा सरसफाईका सामग्रीहरू छन्। कसैले कुचो बोकेका छन्, कसैले कोदालो र फोहोर संकलन गर्ने बोरा हातमा लिएका छन्। खुसी देखिन्छन, सबै हासीरहेका छन्। सरसफाईमा जुटेका सबैजना अत्यन्तै उत्साहित छन्, लाग्छ कुनै भव्य उत्सवको तयारीमा उनीहरू होमिएका छन्। देवदह नगरपालिका वडा नम्बर-५ को कार्यालयले संचालन गरेको पूर्ण सरसफाईयुक्त वडा बनाउने अभियानका 'सरसफाई सेना' को ताजा दृश्य हो - यो।
विश्व बातवारण दिवसको अवसर पारेर गत जेठ २२ गते एक औपचारिक कार्यक्रम योजना गरि सुरु गरिएको ६२ हप्ते सरसफाई अभियानले देवदह-५ मा निरन्तरता पाएको छ। अभियान सुरु भएपछी हालसम्म निरन्तर सरसफाईमा वडाका २१ वटै टोल विकास संस्था जुटेका छन्।
हरेक हप्ताको शनिबार बिहान ७ देखि ९ बजेसम्म वडाबासीहरु हातमा कुचो, हसिया, कोदालो र संकलित फोहोर जम्मा गर्ने बोरा बोकेर सरसफाईमा जुट्छन।
आफूहरू हरेक हप्ता सरसफाईमा जुट्ने र जो कोहि उपस्थित हुन सक्दैन, त्यो घरबाट ५० रुपैयाँ लिने गरिएको सिद्दार्थ कोलोनी टोल विकास संस्थाका अध्यक्ष केशव बहादुर पुनले जानकारी दिए। नियमित हाजिर नै गरेर अभियान चलाईएको उल्लेख गर्दै उनले सरसफाई देवदह-५ को हरेक टोलमा संस्कारकै रुपमा विकसित भएको बताए।
सम्पूर्ण वडाबासीलाई एकैपटक टोलसफाई अभियानमा जोड्न सफल वडा अध्यक्ष गणेश डुम्रे पनि टोलहरूमा विकसित भएको सरसफाई संस्कारबाट उत्साहित देखिन्छन। शनिबार बिहान सरसफाई गरिरहेका टोलबासीहरूको सुझाब संकलन गर्न पुगेका अध्यक्ष डुम्रेले सेतोमसीसंग कुरा गर्दै पवित्र उद्देश्य लिएर ठोस प्रतिवद्धता सहित कुनै पनि काम सुरु गर्ने हो भने त्यसमा नागरिकको साथ रहन्छ र सामाजिक विकासमा त्यसले फड्को मार्न सक्छ भन्नेमा आफु थप विश्वस्त भएको बताए। उनले भने, "हामी ६२ हप्ते अभियानमा छौं, पूर्ण सरसफाईयुक्त वडा निर्माण हाम्रो लक्ष्य हो, हाम्रो बाताबरण फोहोर भयो भने त्यो फोहोर बाताबरणमा मात्र रहन्न हाम्रो भान्सा हुँदै हाम्रो शरिरभित्र प्रवेश गर्छ भन्ने बुझेर नै हामीले यो अभियान सुरु गरेका हौँ। वडाका २१ वटै टोलबासीको उत्साहपूर्ण सहभागिताले अभियान सफलताको नजिक पुगेको महसुस गरेका छौ।"
अवश्य पनि, आवेशमा गरिने ठुला-ठुला भाषण वा सयौं पानामा लेखिएका कागजी योजनाले होइन, जिम्मेबार भएर गरिने साना-साना कर्मले मात्रै समाजको विकास अगाडी बढ्न सक्छ। र, कर्ममा जोडिएको जिम्मेबार नागरिकको साथलेमात्रै समाज विकास सम्भव छ भन्ने कुराको उदाहरण बनेको छ देवदह नगरपालिका वडा नम्बर-५ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology