Logo

२०८३, श्रावण २७गते


images
images

तिब्बतीलाई नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ

तिब्बतीलाई नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ

images
  • तिब्बतीलाई नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ
    images
    images

    काठमाडौँ । सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरेर झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैर नेपाली व्यक्तिहरूको नेपाली नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले बबरमहल क्षेत्रमा सक्रिय रहेको सो समूहका पाँच जनालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा झापाका ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौँका ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङका ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँका २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरका ३० वर्षीय विजय लामा रहेका छन् । उनीहरूलाई पक्राउ गरी नागरिकता ऐन तथा लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

    images
    images
    images

    कार्यालयको विशेष अनुसन्धान टोलीले खोजतलास गर्ने क्रममा गत चैत ८ गते दिउँसो बबरमहलबाट उनीहरूलाई विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध विच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्त्वपूर्ण अन्य विविध कागजातहरू, किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरूको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैर नेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासहित पक्राउ गरेको थियो ।

    images
    images
    images

    पक्राउ परेका कृष्णबहादुर कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएको खुलेको छ । कटवाल यस अघि पनि किर्ते र ठगी मुद्दामा सजाय पाइसकेको व्यक्ति भएको पाइएको छ । उनले हिरालाल सिवाकोटी समेतको सहयोगमा विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्त्वपूर्ण कागजात, छाप तथा दस्तखत किर्ते गर्दै आएका थिए ।

    कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट गैरनेपाली विशेषगरि तिब्बती शरणार्थीहरूको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

    राठौरका अनुसार उनीहरूले न्युल्केश श्रेष्ठलाई नक्कली नेपाली नागरिकता बनाई दिन प्रत्येक पटक रु. १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराई सनाखत गर्ने गराउने गरेका थिए ।

    श्रेष्ठले हाल सम्म गैरनेपाली तिब्बती व्यक्तिहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनी सहयोग गरेको खुलेको छ । त्यसरी किर्ते कागजात तयार गरी गैर नेपाली सक्कली नेपाली नागरिकता दिलाउन कटवालले प्रति व्यक्ति रु. ३ देखि ५ लाखसम्म रकम लिने गरेका थिए ।

    पक्राउ परेका अर्का व्यक्ति विजय लामा विगत ९ वर्ष देखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको र जिल्ला प्रशासन कार्यालय काठमाडौँ भित्र मिलाउनु पर्ने सबै कामको जिम्मा लिने गरेको राठौरले बताए । लामाले भित्र मिलाउनुपर्छ भन्दै कटवालसँग प्रति नागरिकता रु. १ लाख ५० हजार सम्म लिने गरेका थिए तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका लोब्साङ ठिन्लेले फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट नेपाली नागरिकता लिएको देखिएको छ ।

    यस्तै गरी नागरिकता लिएका अन्य २५-३० जनाको सक्कलै नागरिकता प्राप्त भएको देखिएकाले त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कटवालले मात्रै ५/६ वर्षको अवधिमा झण्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र यस्तो कार्यमा कटवालजस्तै अन्य ४/५ जना व्यक्ति पनि सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    यसरी गैरनेपाली तिब्बती शरणार्थी लगायतलाई सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा सक्रिय गिरोहलाई प्रलोभनमा परि सहज तवरले नागरिकता उपलब्ध गराएको आशंकामा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरूमाथि समेत आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।