राजेश पराजुली, पोखरा । पोखरा गत फागून २५ मा पोखरा–भद्रपुर–पोखरा उडान भव्य तामझामका साथ सुरु भएको थियो । भारतको पश्चिम बंगाल र पुर्वि नेपालका शहरमा पोखराको पर्यटन प्रवद्र्धनका निमित्त पोखराका मेयर धनराज आचार्य सहित पर्यटन व्यवसायीसमेतको उपस्थितिमा पोखरा–भद्रपुरको उडान गरिएको थियो । तर बुधबारदेखि बुद्ध एयरले गरिरहेको पोखरा–भद्रपुर–पोखरा स्थगित भएको छ । सुरु भएको ५ दिनमा नै अहिले उडान रोकिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा रेग्मीले अहिले पोखरा–भद्रपुर उडान नभएको बताइन् । उनले बुद्ध एयरको उडान स्वीकृत रहेको तर उडान भने नगरिएको जिकिर गरिन् ।
पोखराबाट विहान ६ः१५ बजे र भद्रपुरबाट बेलुकी ६ः१५ बजेको उडान बुद्ध एयरले गरिरहेको थियो । तर यात्रु १०, १५ जना मात्र हुने गरेपछि हाललाई स्थगित गरिएको बुद्ध एयर पोखराका प्रमुख गौतम बरालले बताए ।
उनले केही समयका लागि मात्र उडान रोकिएको र अब थप पपोखरा भद्रपुर रुटको प्रवद्र्धन गरेर पुनः सुरु गरिने बताए । बरालका अनुसार सो उडानका लागि बुद्ध एयरले दुई हप्तापछि नयाँ जहाज पोखरा ल्याउँदैछ ।
पर्यटन व्यवसायी गणेश थापाले तामझामका साथ सुरु भएको उडान ५ दिनमा नै रोकिनुले पोखराको पर्यटनमा क्षति पुगेको बताए । सामाजिक सञ्जालमा थापा लेख्छन्, ‘पोखराको गरिमामा आँच पुग्ने योजना विना उड्ने उडाउने सबै रमितेले पोखराको पर्यटनमा पुर्याएको क्षति माफ योग्य छैन । भुटान, भारतको पश्चिम बंगाल लगायत नेपालका प्रमुख शहरका लागि करिब १० करोड जनसंख्यालाई पोखरासँग जोड्ने सम्भावना रहेको यो क्षेत्रको उडान कुनै बहानामा रोकिनुहुँदैन ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology