कृष्ण अन्जान, गुल्मी । नेकपा एमालेले गुल्मी क्षेत्र न १ र १ (२) मा निर्वाचनमा पराजय भोगेपछि सामाजिक सन्जालमा घात-अन्तरघातका कुराहरु बाहिर आएका छन । समाजिक सन्जालमा र मिडियामा नामै किटेर केहि नेताहरुको नाम आएपछि एमाले कार्यकर्ताभित्र राजनीतिक तरँग उत्पन्न भएको छ ।
एमालेबाट प्रदेशसभामा १ (२) बाट पराजित उम्मेदवार फर्सुराम पाण्डेले सिरियल किलरको रुपमा प्रमाण समेत नष्ट गरेर अन्तरघात भएको हुनसक्ने गम्भीर विषय सार्वजनिक रुपमा व्यक्त गरेका छन । पाण्डेकै शव्दमा अन्तरघातको यो श्रृङखलाको पार्टीले निर्मम निर्णय गर्दै आफ्ना उम्मेदवार हराउन भुमिका खेल्नेलाई बिदाई समेत गर्नुपर्छ । उनको सँकेत को प्रति केन्द्रित थियो त्यो नखुलेपनि पराजय अन्तरघातकै कारण भएको पाण्डेको भनाई छ ।
यतिबेला अन्तरघातको आरोप एमालेले गुल्मीका पुर्व अध्यक्ष मधुकृष्ण पन्त सहित केही नेता कार्यकर्तालाई लागेको छ तर पन्तले यो कुरालाई आफ्नो नाम जोडेर चरित्रहत्या गर्नका लागि फैलाएका तथ्यहिन हल्ला भएको प्रतिक्रिया दिएका छन ।
जीवनभरि समर्पित पार्टी र सधै एमालेको पक्षमा उभिँदै गर्दा निर्वाचनको हार र जितको विषयमा केही नेताकार्यकर्ताहरुको हवालामा यसरी कसैको चरित्र हत्या हुनेगरी समाजिक सन्जाल र मिडियामा नाम उछालिनु राजनैतिक चरित्र हत्या बाहेक केही नभएको र आफू सहित आरोपित अन्य नेता कार्यकर्ता एमालेलाई जिताउन रातदिन खटेको तर पराजय भोग्नु परेको उनको भनाई छ।
शिक्षक पेशा छाडेर वामपन्थी राजनीति तर्फलागेका एमाले नेता पन्त २०४३ सालमा साविक हर्दिनेटा गाउँ पन्चायतको जनपक्षीय प्रधान पन्च बनेका थिए।
उनी २०४९ र २०५४ मा पनि हर्दिनेटा गाविसको अध्यक्ष बने भने २०५४ देखि २०५९ सम्म जिल्ला विकास समिति गुल्मीको सदस्य बने । लोकतान्त्रिक आन्दोलनका क्रममा २०४६ सालमा ४३ दिन जेल बसेका उनी निरन्तर नेकपा एमालेको विभिन्न तहमा रहेर काम गर्दै लामो समय एमाले गुल्मीको अध्यक्षको रुपमा काम गरेका नेता हुन् ।
२०७४ सालमा छत्रकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका पन्तको कार्यकालमा छत्रकोट गाउँपालिकामा कृषक पेन्सनको कार्यक्रम र सहकारी मार्फत बाँझो जग्गा व्यवस्थापन कार्यक्रम शुरु गरेका थिए । पार्टीको निर्देशनमा पाँचवटा चुनाव लडेका र कहिल्यै हार नबेहोरेका उनलाई यतिबेला आफ्नै उम्मेदवारलाई हराउन अन्तरघात गरेको आरोप केहि कार्यकर्ताले लगाएका छन्। जसको उनले खण्डन गर्दै आएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology