राजेश पराजुली, पोखरा । कोरोनाका कारण दुई वर्षदेखि रोकिएको राष्ट्रिय औद्योगिक व्यापार मेला यस वर्षदेखि सञ्चालनमा ल्याइने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको नियमित कार्यक्रमका रूपमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको उक्त मेला मङ्सिर १६-२५ गतेसम्म सञ्चालनमा ल्याउन लागिएको हो ।
सङ्घद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उक्त मेला सञ्चालनमा ल्याउन लागिएको जानकारी सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले दिए । कोरोनाको त्रास कम भई जनजीवन लयमा फर्केसँगै प्रदर्शनी केन्द्र नयाँबजारमा मेला आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
‘लगानीको संवर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने उद्घोषसहित मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा दुई सय ५१ सदस्यीय मूल आयोजक र पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्यसम्पादन समिति गठन गरिएको छ ।
पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरूलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उद्देश्यले गर्न लागिएको मेलामा दुई सय ५० स्टल रहने बताइएको छ ।
मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको सो अवसरमा बताइएको छ । मेलामा आकर्षणका रूपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानहरूको बिक्री वितरण रहनेछन् ।
मेलाको थप आकर्षणतर्फ सांस्कृतिक कार्यक्रम पनि समावेश छ । मेलाको प्रवेश टिकटका हकमा सर्वसाधारणका लागि रु एक सय एक र विद्यार्थीका लागि रु ६० कायम गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । मेलाबाट अनुमानित आम्दानी रु एक करोड र खर्च रु ८५ लाख कटाउँदा बाँकी रु १५ लाख बचत हुने अनुमान गरिएको छ ।
यस वर्षको मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि खर्च गरिने पनि सो अवसरमा जानकारी दिइएको छ । पोखरामा आयोजना हुने यो मेला नाफामूलक मात्र नभई यस क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान् उत्सव भएको पनि पत्रकार सम्मेलनमा बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology