राजेश पराजुली, पोखरा । देशको तेस्रो ठूलो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अवरोध भएको रिठ्ठेपानी डाँडा कटानका लागि निर्माण कम्पनी छनोट भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि एम-एस उमा-गल्वा जेभी निर्माण कम्पनी छनोट भएको छ ।
उक्त डाँडा कटानका लागि १० वटा कम्पनीले आवेदन दिएका थिए । वित्तीय मूल्याङ्कनपछि ठेक्का टुङ्गो लाग्ने प्राधिकरणले जनाएको छ ।
“ठेक्का प्रक्रिया दुई चरणको रहेको छ”, प्राधिकरणका महानिर्देशक ई अधिकारीले भने, “प्राविधिकरूपमा एउटा जेभी छनोट भएको छ । अबको एक सातामा उक्त कम्पनीको आर्थिक प्रस्तावको मूल्याङ्कनपछि ठेक्का टुङ्गो लाग्ने तथा ठेक्का पक्का भएलगत्तै कटानको काम शुरु हुनेछ ।”
प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै योग्य कम्पनीलाई आउँदो १५ गते आफ्नो वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ । डाँडा कटानबाट निकालिने माटो–ढुङ्गा पोखरा महानगरको हालको ल्यान्डफिल साइट पुर्नका लागि प्रयोग गरिने विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।
उक्त विमानस्थलको फ्लाइट क्यालिब्रेसनका लागि पहिलो चरणमा १४ मिटर डाँडा काट्ने योजना बनाइएको बताइएको छ । पोखरमा अन्तर्राष्ट्रिय उडानका लागि फ्लाइट क्यालिब्रेसन अनिवार्य रहेको र त्यसका लागि हाललाई १४ मिटर डाँडा कटान गर्दा पर्याप्त हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को अनुमान रहेको छ ।
उक्त विमानस्थलमा आगामी नोभेम्बरमा फ्लाइट क्यालिब्रेसन गरिने प्राधिकरणले जनाएको छ । रु २२ अर्बको चिनियाँ ऋण लगानीमा उक्त अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको बताइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्यहाँ न्यारोबडी सिरिजसम्मका जहाज उडान-अवतरण हुने छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology