राजेश पराजुली, पोखरा । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राजनीतिमा युवा पिंढी तयार नभइसकेको बताएका छन् । शुक्रबार साँझ समाजवादी प्रेस संगठन कास्कीले पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विचारवान युवापुस्ता राजनीतिमा नआइसकेको बताएका हुन् ।
‘मलाई के लागेको छ भने यो देशमा विचारवान नयाँ पिंढी बनिसकेको छैन । विचारवान पिंढी आजको आवश्यकता हो । साँच्चै हो, युवाहरुले नेतृत्व लिनुपर्छ । तर, विचारवान हुनुपर्छ’ उनले प्रश्न गरे, ‘उमेर भएको, एकदम १६ वर्षे युवालाई जिम्मेवारी दियो भने काम गर्न सक्छ ?’
खनालले राजनीतिमा युवामात्रै नभएर दृष्टिकोणसहितको युवा हुनुपर्ने जिकिर गरे । ‘त्यस्तो कोही युवा आउँछ भने एकदम जिम्मेवारी पूरा गर्न सक्छ’, उनले भने ।
खनालले आफू पनि राजनीतिमा युवाको उपस्थिति हुनुपर्ने पक्षमा रहेको बताए । उनले युवालाई नेतृत्व दिन नै तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा ७० वर्षे उमेर हदबन्दी विधानमै राखेको उदाहरण दिए ।
खनालले आफूलाई राजनीतिमा कुनै पद नचाहिने तर, विचार दिन सक्दासम्म सक्रिय रहने बताए । निर्वाचनअघि नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताए।“विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले आफू सधैँ वामगठबन्धन र कम्युनिस्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताहरुले एकतामा रुचि नदेखाएको जिकिर गरे।
सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँटमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने उनले बताए।
सम्मानित नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए। उनले भने, “देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान र समाजवादका लागि लड्ने योद्धालाई निर्वाचनमा विजयी बनाउनु आवश्यक छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology