काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी हुन्।
राष्ट्रपति भण्डारी बिहान ११ बजे अस्पताल पुगेकी थिइन् । अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति भण्डारीसमक्ष ब्रिफिङ गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
यसअघि आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए।
नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन ९ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा. पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्नछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology