काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज कतार प्रस्थान गरेको छ ।
प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । क्यानले लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।
टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन्।
प्रतियोगिता नोभेम्बर १९ देखि कतारमा आयोजना हुँदैछ । नेपालले समूह चरणमा नोभेम्बर २० मा भारत ‘ए’, नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (युएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका छ ।
एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने हङकङ, नेपाल र युएईका मुख्य टिम प्रतिष्पर्धा गर्दैछन् । नेपालले भने एनपीएल जारी रहेकाले धेरै जसो खेलाडी प्लेअफबाट बाहिरिएका टिमका खेलाडी समेटेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology