काठमाडौँ । पोल्याण्डको दोस्रो ठूलो सहर क्राकोको मध्यभागमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे व्यस्त मेन मार्केट स्क्वायरमा कारबाट आएका २५ वर्षीय पोल्याण्डका नागरिकले गोली चलाएका थिए । प्रहरीले तीन मिनेटभित्रै उनलाई गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ ।
मृतकमध्ये चार महिला र दुई पुरुष छन् । घाइतेमध्ये दुई प्रहरी अधिकारी रहेका छन् । पक्राउ परेका व्यक्तिको गाडीबाट विभिन्न हतियार तथा गोलीगट्ठा बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा आक्रमणकारी दक्षिणपन्थी अतिवादी विचारधाराबाट प्रभावित रहेको आशङ्का गरिएको छ । प्रहरीले उनको घरमा थप तीन जनाको शवसमेत फेला पारेको छ । गोलीकाण्ड र ती मृत्युबीचको सम्बन्धबारे अनुसन्धान भइरहेको छ ।
घटनापछि प्रधानमन्त्री डोनाल्ड टस्क क्राको पुगेका छन् भने सहरका मेयरले नोभेम्बर ११ सम्म शोक घोषणा गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology