कृष्ण अन्जान, गुल्मी । नेपालकाे एकमात्र लिचिगाउँकाे रुपमा परिचित रुरुक्षेत्र गाउँपालिकाको च्यूरेकका किसानहरुले बेहाेर्दै आईरहेकाे पीडा लिचिमा लाग्ने राेग हाे । जब लिचि फल्ने बेला हुन्छ, पात पाेकाे पर्ने समस्याले किसानहरुलाई चिन्तित बनाउँछ ।
च्यूरेक गाउँमा सबैका घरमा लिचिका बाेटहरु छन । तर, अनेक राेगले लिचिबाट भनेजति उत्पादन लिन सकेका छैनन । "खै के राेग भएर हाे, अरु उत्पादन गर्न छाडेर बारीभरी लिचि लगाईयाे तर भनेजति उत्पादन भएन" च्यूरेकी लिचिका अभियन्ता कृष्ण बहादुर बिक भन्छन् ।
फागुनमा फुल्ने लिचि जेठकाे शुरुबाट असारकाे दाेस्राे सातासम्म पाकिसक्छ तर पछिल्ला केही वर्ष लिचिमा लाग्ने राेगले लिचिकाे उत्पादनमा कमि छ र किसान घाटामा छन ।
लिचिमा लाग्ने राेगलाई कसरी हटाउन सकिन्छ भनेर धेरै ठाउँ कुरा गरेपनि कुनै पहल नभएकाे रुरुक्षेत्र वडा न १ का दिनानाथ ज्ञवाली गुनासो गर्छन् ।
पात गुजुल्टाे पर्ने, लिचि कम फल्ने, बतिलैमा लिचि झर्ने, बेउमत्ताले गाेलाे लाउने र पाक्ने बेलामा भेट्नाे कुहिने च्यूरेक गाउँका लिचिकाे समस्या हाे ।
लिचिमा लाग्ने राेगकाे समस्याका बारे पटकपटक च्यूरेकबासीहरुले आवाज उठाउँदा यसअघि कसैले कुरा नखाए पनि याे पटक रुरुक्षेत्र १ बाट निर्वाचित जनप्रतिनिधिहरुले भने लिचिगाउँका किसानहरूको समस्या समाधानमा विशेष पहल गर्ने तयारी सुरु गरेका छन ।
हामीले लिचिमा लाग्ने राेग के हुन ? यसका लागि लिचिका बाेटहरुकाे कल्चर गर्न बजेट व्यवस्थापन गरेका छौँ र किन र के राेग हाे यसकाे अध्ययन अनुसन्धानसंगै राेग नियन्त्रण गर्नकाे काम अगाडि बढाईने रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का वडा सदस्य घनस्याम ज्ञवालीले बताए ।
च्यूरेककाे लिचिगाउँका किसानका समस्याप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । याे समस्या समाधान गर्न सम्बन्धित निकायमा हामीले कुरा पनि राखेका छौँ र याे वर्ष स्थानीय फलफुल खेतीसंरक्षणमा काम हुने वडासदस्य ज्ञवालीले भने ।
करिब असी वर्षको ईतिहास बाेक्ने लिचिगाउँमा किसानहरुका लागि लिचिकाे बाेट संरक्षण सम्बर्द्धन सहित स्थानीय जातकाे लिचिका बिरुवा उत्पादनसंगै निष्कृय रहेकाे लिचि ब्लक सन्चालक समितिलाई समेत सकृय पारिने जनप्रतिनिधिहरुले प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology