काठमाडौं । लगातार भइरहेको वर्षाका कारण फोहर ढुवानी तथा व्यवस्थापनमा समस्या भएपछि काठमाडौं महानगरपालिकाले केही समयका लागि घरबाट फोहर बाहिर ननिकाल्न महानगरवासीलाई आग्रह गरेको छ ।
महानगरपालिकाका अनुसार फोहर ढुवानी गर्ने सडक तथा फोहर विसर्जन गर्ने ठाउँमा माथिबाट लेदोसहितको माटो खसिरहेका कारण फोहर संकलन, ढुवानी तथा विसर्जनमा असहजता उत्पन्न भएको हो ।
वर्षाका कारण केही समय फोहर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने भएकाले महानगरपालिकाले घरधनी, व्यवसायी तथा सबै महानगरवासीलाई फोहर सडक, चोक, सार्वजनिक स्थल, खोला-नाला वा अन्य खुला स्थानमा नफाल्न आग्रह गरेको छ ।
फोहर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म घर वा आफ्नै परिसरभित्र फोहर सुरक्षित रूपमा राख्न तथा सड्ने र नसड्ने फोहर छुट्याएर व्यवस्थापन गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।
सडक तथा सार्वजनिक स्थानमा फोहर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
वर्षा तथा फोहर विसर्जन गर्ने ठाउँको अवस्था सामान्य भएपछि फोहर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology