काठमाडौं । नियमित वर्षा हुन थालेपछि काठमाडौं महानगरपालिकाले जोखिमयुक्त क्षेत्र र विद्यालयमा निगरानी बढाएको छ । सम्भावित बाढी तथा डुबानबाट बालबालिकाको सुरक्षा र भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारी थालिएको हो ।
महानगर विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित बाढी, डुबान र पहिरोको जोखिम न्यूनीकरणका लागि सबै संयन्त्रलाई सक्रिय राख्ने निर्णय गरेको छ । जोखिमयुक्त विद्यालयको अवस्था हेरी आवश्यक परे पठनपाठन स्थगित गर्ने अधिकार शिक्षा विभागलाई दिइएको छ ।
नदी किनारमा माइकिङ गर्ने, पानी निकास हुने स्थानमा निगरानी बढाउने तथा ढल, मंगाल र क्याचपिट सफाइलाई तीव्रता दिने निर्णय गरिएको छ । उद्धार सामग्री, सवारीसाधन र दुई जना नगर प्रहरी उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ ।
सम्भावित विपद्का बेला तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन एम्बुलेन्स तयारी अवस्थामा राख्ने र स्वास्थ्यकर्मीलाई बिदा वा काजमा नखटाउने व्यवस्था गरिएको छ ।
जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई उद्धार गर्न आवश्यक परे विद्यालय तथा मानव सेवा आश्रमलाई अस्थायी सुरक्षित केन्द्रका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ । महानगरपालिकाले विपद्मा परेकालाई राहत उपलब्ध गराउन छुट्टै संयन्त्रसमेत गठन गरेको जनाएको छ । महानगरपालिकाले वर्षा, डुबान तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन र आधिकारिक सूचना पालना गर्न आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology