काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले शुक्रबार बिहान ११ बजे बस्ने गरि केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन् ।
बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने तयारी गरिएको एक पदाधिकारीले जानकारी दिएका छन् । सभापति लामिछानेले उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहप्रवक्ता तथा केन्द्रीय सदस्यहरूको मनोनयनका लागि प्रस्ताव राख्ने तयारी गरेको बताइएको छ ।
त्यस्तै, पार्टी सचिवालय विस्तार गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ । रास्वपामा हाल ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी रहेको छ ।
यसअघि साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनयन गर्ने निर्णय गरेको थियो । साथै, पार्टीका पदाधिकारी रहने सचिवालय गठन गर्ने निर्णयसमेत गरिएको थियो ।
केन्द्रीय समिति बैठकपछि भदौ ६ र ७ गते केन्द्रीय सदस्य तथा सांसदहरूका लागि आवासीय अभिमुखीकरण कार्यक्रम पनि आयोजना गरिने पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology