काठमाडौँ । नेपाल वायुसेवा निगममा कार्यरत दुई कर्मचारीलाई ठूलो परिमाणमा विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।
आइतबार राति नेपाल वायुसेवाको उडान नम्बर आरए ४१५ मार्फत काठमाडौँबाट क्वालालम्पुर जान लागेका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान हातसामान जाँच गर्ने क्रममा शरीर खानतलासी गर्दा विदेशी मुद्रा बरामद भएको हो ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६, गंगबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका छन् ।
बज्राचार्यको साथबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिङ्गिट बरामद भएको छ । त्यस्तै, पाण्डेको साथबाट ४ हजार २ सय अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिङ्गिट बरामद भएको प्रहरीले जनाएको छ।
बरामद विदेशी मुद्रासहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology