सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी प्रहरीको बदनाम गर्ने कार्यमा संलग्न एक युवक पक्राउ गरिएको जनाएको छ ।
प्रहरीका अनुसार जेठ १९ गते कमलामाई नगरपालिका-७ स्थित बिपी राजमार्गअन्तर्गत गडौली पुल नजिक सडक खण्डमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको समयमा खिचिएको फोटो तथा भिडियो एआईको प्रयोग गरी परिमार्जन गरिएको पाइएको हो ।
त्यसरी सम्पादित सामग्री फेसबुकमार्फत सार्वजनिक गर्दै प्रहरीको छवि धुमिल पार्ने कार्यमा संलग्न रहेको आरोपमा कमलामाई नगरपालिका-१ का २१ वर्षीय हर्कबहादुर स्याङ्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका स्याङ्तानलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको मोबाइल फोन पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जालमा आउने सामग्रीलाई बिना पुष्टि शेयर, कमेन्ट वा आधार बनाएर समाचार सम्प्रेषण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology