देवदह । निर्माण बहुउद्देश्यीय सहकारी संस्थाले ‘मायादेवी’ ब्राण्डमा साबुन, सर्फ, हार्पिक र फिनेल उत्पादन गर्ने भएको छ । शनिबार सम्पन्न संस्थाको १४औँ वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मोतिलाल ढकालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीति लिएको बताए ।
हाल रासायनिक मल, जैविक मल, खाना पकाउने एलपी ग्यास तथा कृषि उपजको खरिद–बिक्री गर्दै आएको सहकारीले अब आफ्नै उत्पादन सुरु गरी बिक्री गर्ने योजना अघि सारेको हो । सहकारीले देवदह नगरपालिकासँग सहकार्य गरी सरसफाइ तथा जलवायु अनुकूलतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । स्थानीय कच्चा पदार्थ प्रयोग गरी मायाको चिनो निर्माण गर्ने योजना पनि सहकारीले अघि सारेको छ ।
साधारणसभामा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले सहकारीहरू उत्पादनमूलक क्षेत्रमा जोडिनुपर्ने बताए । ‘हामी बचत गर्ने र ऋण प्रवाह गर्ने कार्यमै भुल्यौँ भने उद्देश्य पूरा गर्न सक्दैनौँ,’ उनले भने, ‘उत्पादनका क्षेत्रमा लगानी र स्थानीय उत्पादनको प्रवर्धन गर्ने कार्यमा सहकारी जोडिनैपर्छ ।’
सहकारीले सस्तो पसल सञ्चालन तथा स्थानीय उत्पादनको बिक्री र बजारीकरणको योजना ल्याए नगरपालिकाले सहकार्य गर्ने नगर प्रमुख खरेलले बताए । उनले शीतलनगरस्थित कोसेली भवनलाई सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाउन पनि आग्रह गरे ।
फरक प्रसंगमा नगर प्रमुख खरेलले सहकारीका कर्मचारी राजनीतिबाट अलग हुनुपर्ने बताए । केही सहकारीका व्यवस्थापक नै राजनीतिमा सक्रिय रहेको र सहकारीको जिम्मेवारी सही ढंगले निर्वाह नगरेको उजुरी आएको उल्लेख गर्दै उनले सहकारीका शेयर सदस्यले आफू शेयरधनी रहेको संस्थाको गतिविधिबारे ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सहकारी अभियन्ताहरू टीका गौतम न्यौपाने, सन्दीप सापकोटालगायतले धारणा राखेका थिए । सो अवसरमा उत्कृष्ट ऋणी, शेयरधनी तथा कर्मचारीलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
साधारणसभाले अध्यक्ष, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको व्यवस्थापक सुशीला भण्डारीले जानकारी दिइन् ।
सहकारीमा ८७४ महिला र ६८३ पुरुष गरी १ हजार ५५७ जना शेयर सदस्य छन् । संस्थाको शेयर पुँजी १० करोड ८५ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology