सुमन गाहा, पाल्पा । पाल्पाको माथागढी गाँउपालिकाले १५ शैयाको कोभिड अस्पताल संचालन गरेको छ । माथागढीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि १५ शैयाको कोभिड अस्पताल माथागढी गाँउपालिका वडा नं.४ देवगिरमा संचालन गरेको हो ।
यस अघि संघीय सरकारको १० लाख रुपैयाँ अनुदानमा ५ शैया र गाउँपालिकाको आफ्नै लगानीमा ५ शैया गरी १० शैयाको कोभिड अस्पताल सञ्चालन गरे पनि गाँउपालिकामा संक्रमणको दर बढ्दै गएपछि गाँउपालिकाले थप ५ शैया गरी १५ शैयाको सेवा विस्तार गरेको गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताउनुभयो ।उहाँले अगामी दिनमा कोभिडका विरामीहरुलाई उपचारमा कुनै कमी नहोस् भन्ने सोंचका साथ सेवा विस्तार गरेको बताउनुभयो ।
१५ शैयाको अस्पतालमा १५ वटै विशेष केयरसहितको बेड रहेको छ । नयाँ भेरियन्ट सहितको कोरोना महामारीले देशमा भयावह अवस्था निम्तिएपछि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाँउपालिकाले जनाएको छ ।
समुदाय स्तरमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपाल सरकारको मापदण्ड अनुसार कोरोना संक्रमितको उपचारका लागि आवश्यक सामग्री सहित आफूहरु तयारी अवस्थामा रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख केशव जि.सिले बताउनुभयो ।
कोभिड अस्पतालमा उपचारका लागि कुनै शुल्क तिर्न नपर्ने व्यवस्था गाउँपालिकाले मिलाएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै जाँदा कोरोना संक्रमितको सहज उपचारका लागि अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने छ । यसले समुदायमा थप कोरोना संक्रमण फैलिन नदिन समेत महत्वपूर्ण योगदान पुर्याउन अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology