काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका-५ घर भएका ३६ वर्षीय सुवास लावती पक्राउ परेका छन् ।
एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।
वैदेशिक रोजगारीमामा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भनि पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भई ठगी गरेको मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २६ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल काठमाडौं बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology