तिलोत्तमा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले रुपन्देही क्षेत्र नम्बर १ को विकासका लागि हिराबहादुर खत्रीको विकल्प नभएको बताएका छन् ।
शनिवार तिलोत्तमा–७ मा प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता रज्जाकले क्षेत्रका कांग्रेस सभापति समेत रहेका खत्री विकासका आधार र सम्भावनाबारे जानकार रहेको दाबी गरे । देवदह नगरपालिकाका पूर्व प्रमुखसमेत रहेका खत्रीले क्षेत्रको विकासको आधार पहिचान गरिसकेको उनले बताए ।
रज्जाकले समयसँगै कांग्रेस बदलिएको उल्लेख गर्दै जनचाहनाअनुसार विकास र पूर्वाधारका योजना अघि बढाइने बताए ।
कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले विकास र समृद्धिका लागि कांग्रेस सक्षम पार्टी भएको बताए । उनले युवाले चाहेको परिवर्तनलाई आत्मसात् गर्दै योजनाबद्ध विकासका कार्यक्रम अघि बढाइने उल्लेख गरे ।
कांग्रेसका तर्फबाट रुपन्देही–१ का उम्मेदवार खत्रीले आफ्नो क्षेत्रमा विकासका लागि स्पष्ट भिजन र योजना रहेको बताए । आलोचनाभन्दा पनि विकास कसरी सम्भव हुन्छ भन्ने चिन्तासहित घरदैलो अभियानमा रहेको उनको भनाइ छ । उनले क्षेत्रका सम्भावनाको खोजी गरी काम गर्ने अवसर दिन मतदातासँग आग्रह गरे ।
दिनमणि पंगेनीको सभापतित्वमा भएको कार्यक्रममा गंगा शाही, बासुदेव रिमाल र विश्वनाथ यादवलगायतले खत्रीको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology