रिया बस्नेत, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा स्केट पार्क निर्माण भएको छ । स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा नगरपालिका वडा नं. ४ मा समुदाय स्तरको स्केट पार्क निर्माण गरेको हो । करिव १० कठ्ठा क्षेत्रफलमा ४० लाख रुपैयाँ लागतमा समुदायस्तरको स्केट पार्क निर्माण भएको छ ।
स्केट ऐड पार्क तथा सामुदायिक केन्द्रको उद्धघाटन शनिवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, स्केट ऐड का संस्थापक अध्यक्ष प्रोफेसर टिट्स डिटमान र तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शेरचनले नेपालले आफ्नै क्षेत्रका बिभिन्न खेलहरुलाई समेत राष्ट्रियकरण गर्न नसकेकाे र नेपालमा नयाँ पुस्ताहरुमा बिभिन्न अन्तराष्ट्रिय खेलहरुमा आकर्षण बढेकाे तर यस्लाइ राज्यले कुनै व्यवस्था गर्न नसकेको बताए । खेल हेर्दा सानो देखिने तर यसले अन्तर्राष्ट्रिय स्तरमा निकै महत्त्वपूर्ण बिषय बोकेको बताउँदै खेल बिस्तार गर्ने संघ, प्रदेश र स्थानिय गरी तिनै तहकाे सरकारकाे महत्वपुर्ण जिम्मेबारि रहेने बताए ।
नेपालकाे पहिलो स्केट खेल रुपन्देहीबाट सुरु भएकाे हुनु आफैमा गर्वकाे कुरा भएको बताउँदै शेरचनले सबै खेलहरुलाई पनि चासो र चिन्तनको रुपमा लिएर राज्यले पनि उचित व्यवस्था गर्नुपर्ने बताए ।
यसैगरी कार्यक्रममा नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य लिला गिरिले खेलले मानिसलाई मानसिक तथा शरिरिक रुपमा स्वस्थ रहनकाे लागी आवाश्यक भुमिका खेल्ने बताउँदै आफ्नै क्षेत्रमा अन्तराष्ट्रिय खेल स्केट पार्क निर्माण हुदाँ अत्यन्तै खुसि रहेकाे र नयाँ खेलको विकास भएको भन्दै थप भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने बताए ।
तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले स्केट पार्क निर्माणकाे लागी पहिलाे पटक आफुले असहमति जनाएको बताउँदै अहिले दक्षिण एसियाकै नमुना र पहिलाे स्केट पार्क तिलाेत्तमामा बन्न लागेकोमा खुसी छाएकाे बताए ।
स्केट पार्कको लागि अझै दाेस्राे र तेस्राे चरणकाे काम सचिवालय भवन, हरियालि पार्क निर्माण जस्ता कार्यको लागि डिपिआर बनाएको हुदा यसमा पनि सहजिकरणका उनले गर्ने बताए । स्केट पार्क एउटा एकेडेमी सहितको पार्ककाे रूपमा स्थापित गरि निशुल्क रुपमा खेलाडीलाई अभ्यास गराउने र नयाँ खेलाडिहरु उत्पादनका लागी तिलोत्तमा नगरपालिकाले सम्पुर्ण सहयाेग गर्ने उनको भनाइ छ ।
सन २०१३ देखि स्केटमा जाेडिएका स्केट ऐड नेपालका अध्यक्ष जागृत पहाडीले उक्त स्केट पार्क जर्मन कम्पनीको डिजाईनमा साढे २ करोड लागतको योजना रहेकाे बताए । सन २०२३ सम्म याे योजना सम्पन्न गर्ने बताए । तिन चरणमा थालिएकाे काम पहिलाे चरणकाे स्केट पार्क सम्पन्न भएकाे छ भने दोस्रो र तेस्रो चरणमा छात्रवास सहितको आवास गृह, प्रशिक्षण केन्द्र , पुस्तकालय , हाेस्टेल र कार्यालय भवनसहित पार्कलाई स्रोत केन्द्रका रुपमा इन्डोर बनाउने र उद्धघाटन लगातै खेलाडिहरुकाे लागि नियमित अभ्यास सुरु गराउने अध्यक्ष पहाडीले बताए ।
फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिव ६० जना व्यक्तिले स्वयंसेवा रुपमा श्रमदान गरी करिब चार महिनामा पार्कको निर्माण कार्य सम्पन्न भएको पहाडीले बताए ।
स्केट ऐड इन्टरनेशनलका संस्थापक अध्यक्ष ७४ बर्षिय टिटस डिटमानले स्केट खेल नेपालमा उच्च सम्भावना रहेकाले नेपालमा स्केट खेल भित्राउन र व्यवसायिक बनाउन जागृत पहाडीको मेहनतलाई नै देखेर आफू र आफ्नाे टिम सहित नेपाल आएर स्केट पार्क निर्माणमा सक्रिय बताएकाे बताए ।
तिलोत्तमामा बनेको स्केट पार्क दक्षिण एसियाकै पहिलो हाे । स्केट पार्कको अभावका विच पनि नेपाली खोलाडीहरुले अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेकाले पार्क निर्माणले नेपाली खेलाडिहरुमा ठुलाे याेगदान हुनेछ ।
खेल मैदानकाे अभावका बिच पनि सन् २०१६ मा थाइल्यान्डमा भएको पुरुष च्याम्पियनसिपमा नेपालका मिलन शाह च्याम्पियन जितेका थिए भने २०२१ मा भारतमा भएको प्रतियोगितामा पनि समीक्षा राईले महिलातर्फ च्याम्पियन र गजेन्द्र बर्देवाले पुरुषतर्फ प्रथम भएका थिए ।
नेपालमा काठमाडौ, धरान, पोखरा, बुटवलमा गरी २ सयबढि स्केट खेलाडीहरु छन्। अध्यक्ष पहाडीले अहिले दक्षिण एशियामै पहिलो पटक स्केट खेललाई व्यवसायिक बनाउने अभियानका साथै स्केट खेलबाट अन्तर्राष्ट्रिय मैदानमा जाने खेलाडिहरुको लागी हौसला समेत बढाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology