देवदह । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले देश र जनताको निम्ति नेकपा एमालेले स्पष्ट नीति र योजना निर्माण गरि अघि बढेको बताएका छन् । उनले नेकपा एमालेको नीति र योजनाको आधारमा मुलुक अगाडि बढ्ने दावी गरे ।
नेकपा एमाले रोहिणी गाउँ कमिटीले धकधईमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता विश्वकर्माले स्थिरता, समृद्धि र अग्रगमनका निम्ति एमाले सदैव प्रतिवद्ध रहेको बताए । विगतमा एमालेको सरकारले अगाडि सारेका कार्यक्रम र योजनाहरुको कारण आज मुलुकले भौतिक पूर्वाधार विकासमा फड्को मारेको उल्लेख गर्दै उनले अवका दिनमा पनि नेकपा एमालेलाई मत दिएर देश विकासको मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नम्वर १, का उम्मेदवार दधिराम न्यौपानेले क्षेत्रको विकासका लागि जनताले सही व्यक्तिको छनोट गर्नुपर्ने बताए । काम गर्ने र नगर्नेहरुलाई पहिचान गरी मतदान गर्नुपर्ने बताउँदै उनले दशगंजा देखि चुरेको फेदीसम्म रहेको क्षेत्र नम्वर १, को मुहार फेर्न आफु प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
सोही कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्र नम्वर ४, का एमाले उम्मेदवार प्रमोद यादवले तराईवासीको हकहित र अधिकारको लागि नेकपा एमाले उत्कृष्ट दल रहेको ठोकुवा गरे । उनले एमालेलाई मत दिएर पहिलो पार्टी बनाउन समेत सवैसंग आग्रह गरे ।
सभामा नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञप्रसाद गैरे, रोहिणी गाउपालिकाका पुर्वअध्यक्ष सनोज यादव, बेद गिरी, सरोज पाण्डे लगायतले बोल्दै जनताहरु एमालेको पक्षमा प्रतिवद्ध भएर लागेको जिकिर गरे ।
सुनिल कौशलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टीका ३ सय भन्दा बढि कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology