देवदह । प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्माले समाज विकासमा सामुदायिक वनको महत्वपूर्ण भुमिका रहने बताएका छन् । नागरिकसँग प्रत्यक्ष जोडिने संघसंस्थाहरु मध्ये सामुदायिक वन अग्रणी स्थानमा रहेको उनले बताए ।
सरहनकालिका सामुदायिक वन उपभोक्ता समुहको ११औँ वर्षिक साधारण सभा तथा ५औँ अधिवेशनमा बोल्दै सांसद विश्वकर्माले सामुदायिक वनका कारण नेपालको वन क्षेत्रमा बृद्धि भएको र यसले देशको पहिचानलाई माथि उठाएको उल्लेख गरे ।
फरक प्रसङ्गमा उनले सरहनटाँडी पहिले देखिनै विकासको गतिमा अघि बढिरहेको र आगामी दिनमा आफु सरहनको विकासमा लागिपर्ने प्रतिबद्धता जनाए । ‘सरहन क्षेत्रमा खानेपानीको समस्या रहेको मैले जानकारी पाएको छु, अब छिट्टै त्यो समस्या समाधानका लागि पहल गर्नेछु ।’ उनले भने, ‘म यस क्षेत्रको सांसद भएको नाताले यहाँको विकासको जिम्मा पनि लिनुपर्ने हुन्छ, त्यसैले यहाँहरुलाई यस क्षेत्रको विकासप्रति जिम्मेवार भएको महशुस गराउन चाहन्छु ।’
कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख ध्रुबप्रसाद खरेलले पालिका अन्तर्गत रहेका सामुदायिक वनहरुले वन संरक्षणका लागि गरेका कामको प्रशंसा गरे । उनले आम नागरिकसङ्ग सहकार्य नगरी समाज विकास गर्न नसकिने बताउँदै नगर विकासका कार्यक्रम अन्तर्गत समृद्धिको यात्राका लागि सबैको साथ आवश्यक पर्ने उल्लेख गरे । ‘सरहनको विकासका निम्ति यहाँ रहेको सिमिको भण्डारण गरि अफ सिजनमा त्यसलाइ बेच्न सके यहाँका किसानको आम्दानीको बाटो बढाउन सकिन्छ ।’ उनले भने, ‘त्यसको लागि किसानहरु विचको एकता र इच्छाशक्ति आवश्यक छ ।’ प्रमुख खरेलले सरहनका जनतालाई स्वास्थमा विमामा जोडिन आग्रह गर्दै स्थानीयलाई नगर अस्पतालको सेवा लिन समेत आग्रह गरे ।
साधारण सभाले कोषाध्यक्ष धनबहादुर रानाद्धारा प्रस्तुत आर्थिक वर्ष २०८०÷०८१ को ६१ लाख ३२ हजार रुपैंया बराबरको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
यसैगरी साधारणसभाले आर्थिक बर्ष २०८१÷०८२ को लागि ३९ लाख रुपैंया बराबरको बार्षिक अनुमानित बजेट समेत पारित गरेको छ । जसमा वन विकास तर्फ ४० प्रतिशत, प्रशासनिक तर्फ १० प्रतिशत, सार्वजनिक निर्माण तर्फ २० प्रतिशत र महिला शसक्तिकरण तर्फ ३० प्रतिशत खर्च गर्ने योजना बनाएको छ ।
यसैबिच शुक्रवार सम्पन्न अधिवेशनले समर जर्घामगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा वसन्त जर्घामगर, सचिव मनकुमारी वकावल, सहसचिव गममाया राना र कोषाध्यक्षमा केशरी थापा रहेका छन् । सदस्यहरुमा रञ्जित कुमार आले, ओमकला गाहामगर, एलिसा देवी राना, हुमेसिंह गाहा, झरना ठाडा, कुमारी राना, बेनीराम ठाडा र जुना बाह«घरे रहेका छन् ।
अधिवेशनले दुर्गाबहादुर रानाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति, लोकेन्द्रबहादुर जर्घाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति र मनकुमारी वकावलको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति सर्वसम्मत रुपमा चयन भएको बताइएको छ ।
कार्यक्रममा ८० बर्ष माथिका ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ भने उपभोक्ता परिवारका उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरियो ।
होमबहादुर वकावलको अध्यक्षता, वसन्त बहादुर जर्घाको स्वागत, र धनबहादुर रानाको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology