देवदह । जेनजी आन्दोलनको क्रममा भाद्र २४ गते देवदहका विभिन्न स्थानमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले देवदहबाट १० जनालाई पक्रेको छ ।
पक्राउ पर्नेमा देवदहका ९ जना र एक जना अर्घाखाँचीका स्थायी वासिन्दा रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलबाट पक्राउ पुर्जी जारी भई पक्राउ पर्नेमा देवदह ५ कोलुवा निवासी सुन्दर दर्लामी, देवदह ७ मदनग्रामका दिपक खरेल, देवदह ७ कै विशाल सुवेदी, देवदह ७ तल्लो खैरेनीका विमल ढकाल र देवदह ७ सगरमाथा टोल हरिराम सापकोटा रहेका छन् ।
यसैगरी देवदह ९ घोडाहाका पवन गुरुङ्ग, सोही स्थानका धिरज थापा, गौरव श्रेष्ठ र केशव सारुलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । यसैगरी अर्घाखाँची पाणीनी गाउँपालिकाका स्थायी ठेगाना भएर देवदहको एक सुनचाँदी पसलमा काम गर्ने दिपक विकलाई समेत प्रहरीले पक्रेको छ ।
पक्राउ परेका उनीहरु माथी आगजनी, तोडफोड, चोरी लगाएतको आरोप लगाईएको छ । उनीहरुलाई आजै ईलाका प्रहरी कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलको घरमा आगजनी तथा लुटपाट गरेका थिए भने, उपप्रमुख विद्यालक्ष्मी गुरुङको घरमा आक्रमणको प्रयास भएको थियो । भिडले नेकपा एमालेको नगर पार्टी कार्यालय, माओवादी केन्द्रको पार्टी कार्यालय र देवदह उद्योग व्यापार संघमा आगजनी एवम् क्षती पुर्याएको थियो । प्रदर्शनकारीले देवदह ७ स्थित मदन आश्रीत पार्कमा रहेका शालिकमा समेत क्षती पुर्याएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology