देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षमा १ हजार ३ सय ७२ जना नयाँ शेयर सदस्य थप गरेको छ । संस्थाको २० औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा सदस्य संख्या वृद्धि भएको र हाल कुल सदस्य संख्या १९ हजार ५ सय ४९ पुगेको उल्लेख छ ।
संस्थाको २० औं वार्षिक साधारण सभा तथा २१ औं स्थापना दिवसमा संस्थाका अध्यक्ष ऋषिराम सापकोटाले वार्षिक प्रतिवेदन पेस गर्दै सदस्य वृद्धिले संस्थाप्रति बढ्दो विश्वासको संकेत भएको बताए ।
प्रतिवेदन अनुसार संस्थाको कुल शेयर पूँजी १३ करोड ४५ लाख, शेयर सदस्यको बचत १ अर्ब ६४ करोड २१ लाख, कुल सम्पत्ति तथा दायित्व १ अर्ब ९० करोड १२ लाख र ऋण लगानी १ अर्ब ४३ करोड ६२ लाख रहेको छ । अध्यक्ष सापकोटाले आर्थिक सूचकहरू सुदृढ भएको उल्लेख गर्दै सदस्यलाई व्यवसायीक बनाउने लक्ष्यअनुसार आगामी कार्यक्रम अघि सारिने बताए ।
साधारण सभामा बोलेका वक्ताहरूले सहकारीको खर्च प्रणाली चुस्त हुनुपर्ने बताउँदै भ्रमणका नाममा अनावश्यक खर्च नगर्न सुझाए । उनीहरूले शेयर सदस्यलाई स्वरोजगार बन्न सहयोग गर्ने सीपमूलक तालिम आवश्यक रहेकोमा जोड दिए । सहकारीले आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता सम्बोधन गर्दै दीगो लक्ष्य हासिल गर्न सबैसँग सहकार्य गर्नुपर्ने वक्ताहरूको धारणा थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक सुवकान्त न्यौपाने, पूर्वअध्यक्ष कृष्णप्रसाद पौडेल, पूर्व उपाध्यक्ष विष्णुप्रसाद पौडेल, डिल्लीराज मरासिनी, डिल्लीराम सापकोटा, टेकबहादुर गाहा, पूर्णिमा गुरुङ, मुक्तबहादुर मगर, ताराप्रसाद भट्टराई, नारायण वस्याललगायतले बोलेका थिए ।
मंसिर ६ गते ९ वटै सेवा केन्द्रस्तरीय साधारण सभा सम्पन्न गरिसकेको संस्थाले स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममार्फत ८१ पिन्ट रगत संकलन गरेको जानकारी दिएको छ । रक्त सञ्चार केन्द्र बुटवलले कार्यक्रमलाई प्राविधिक सहयोग प्रदान गरेको थियो ।
कार्यक्रम कोषाध्यक्ष हरि भण्डारीको स्वागत र सचिव कृष्णराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology