देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रस्तरीय २१औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । असोज १७ गते विभिन्न सेवा केन्द्रमा सम्पन्न साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
संस्थाका व्यवस्थापक विनोद पराजुलीकाले संस्थाको शेयर पुँजी ७ करोड ७५ लाख ३२ हजार ७ सय, संस्थागत पुँजी १३ करोड १६ लाख ११ हजार २ सय ५, बचत निक्षेप १ अर्ब ७५ करोड ३२ हजार ४ सय ९ र ऋण लगानी १२ अर्ब ३८ करोड ४ लाख ८३ हजार १ सय ३१ रुपैयाँ रहेको बताए ।
त्यस्तै, संस्थाको कुल सम्पत्ति २ अर्ब २ करोड ७५ लाख ३९ हजार १ सय ६४, कुल आम्दानी १४ करोड ३१ लाख १५ हजार ९ सय ९० र खुद बचत २ करोड ४२ लाख ४७ हजार ९ सय २ रुपैयाँ रहेको प्राप्त प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको छ ।
सो अवसरमा ७ सय ३५ जना ज्येष्ठ शेयर सदस्यलाई नगदसहित सम्मान गरिएको सहकारीले जनाएको छ ।
खैरेनी सेवा केन्द्रमा २ सय २९, ढेकावर–शंकरपुर–रामपुरमा १ सय ९६, शितलनगरमा १ सय ४३, घोडाहामा ४५, तारापुञ्जमा ७०, देउरालीमा ३७ र युवा संगम सेवा केन्द्रमा १५ जना ज्येष्ठ शेयर सदस्य सम्मानित भएका व्यवस्थापक पराजुलीले बताए ।
साधारण सभामा उत्कृष्ट बचतकर्ता, असल ऋणी र उत्कृष्ट बाल बचतकर्ताको नाम घोषणा गरिएको छ । उनीहरूलाई संस्थाको स्थापना दिवसका अवसरमा सम्मान गरिने जनाइएको छ ।
कार्यक्रममा वक्ताहरूले सहकारी नीति र विधिअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै शेयर सदस्यको सक्रिय सहभागिताले संस्थालाई थप प्रभावकारी बनाउन सकिने बताए ।
विभिन्न सेवा केन्द्रमा सम्बन्धित सञ्चालक तथा व्यवस्थापन उपसमिति संयोजकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology