काठमाडौं । लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ । लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि सिंहलाई मेन्टरमा नियुक्त गरेको हो ।
६२ वर्षीय रोबिन सिंहसँग प्रशिक्षणको लामो अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिगमा बारबाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन् ।
यस्तै रोबिन सिंहले यूएईको राष्ट्रिय टिमलाई समेत प्रशिक्षण दिइसकेका छन् । खेलाडी जीवनबाट संन्यास लिएपछि सिंह सुरूमा भारतको यू–१९ टिमको प्रशिक्षक बनेका थिए । सन् २००४ मा हङकङको प्रशिक्षक बनेका उनले हङकङलाई एसिया कपमा छनोट गराउन भूमिका खेलेका थिए । त्यसपछि सन् २००६ मा उनी भारत ए टिमको प्रशिक्षक बने । त्यसपछि २००७ र २००८ मा उनले भारतीय राष्ट्रिय टिममा फिल्डिङ प्रशिक्षकको रुपमा काम गरे । त्यसपछि सन् २००८ मा सुरू भएको आईपीएलको पहिलो सिजनमा सिंह डेक्कन चार्जर्सको प्रशिक्षक थिए । सन् २०१० मा मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बनेका तीन सिजन मुम्बईको टिममा रहे । त्यसपछि मुम्बईले सन् २०१३ मा आईपीएल उपाधि जितेदेखि उनी कोचिङ संरचनामा समावेश थिए । उनी सन् २०१२ पछि बार्बाडोस ट्रिडेन्ट्सका प्रशिक्षक बनेका थिए ।
रोबिन सिंह सन् २०२० मा युएईको राष्ट्रिय टिमको डिरेक्टर अफ दि क्रिकेट तथा मुख्य प्रशिक्षक बने । उनकै प्रशिक्षणमा युएईले सन् २०२२ मा अष्ट्रेलियामा भएको आईसीसी टी–२० विश्वकप खेलेको थियो ।
सन् २०२३ देखि सुरू भएको इन्टरनेशनल लिग टी–२० मा उनी पहिलो सिजन एमआई इमिरेट्सको जीएम बनेका थिए । अर्काे सिजन उनी एमआई इमिरेट्सको मुख्य प्रशिक्षक बन्दै टिमलाई च्याम्पियन बनाउन योगदान गरेका थिए ।
यस्तै खेलाडी हुँदा अलराउण्डर रहेका उनले भारतका लागि एक टेष्ट र १३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
लुम्बिनी लायन्स टिमका अध्यक्ष इश्वर जिसी भन्छन्, “अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव र प्रतिभाले भरिपूर्ण रोबिन सिंहलाई लुम्बिनीमा ल्याउनु हाम्रो लागि मात्र होइन, समग्र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउनको लागि पनि एउटा अवसर हो ।”
रोबिन सिंहले लुम्बिनी लायन्सको मेन्टर बन्दा आफुलाई खुसी लागेको प्रतिक्रिया दिएका छन् । साथै उनले टिममा युवा प्रतिभावान खेलाडीहरूसँग आफ्नो अनुभव बाँड्न उत्साहितसमेत रहेको बताएका छन् । “नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको हिस्सा हुन पाउँदा म अत्यन्त खुसी छु । नेपालमा क्रिकेट तीव्र गतिमा वृद्धि हुँदैछ र म यहाँका युवा प्रतिभाहरूसँग आफ्नो अनुभव बाँड्दै जित्ने संस्कृतिको निर्माणका लागि योगदान दिन उत्सुक छु । लायन्समा ठूलो सम्भावना छ । हामीसँगै यस सिजनलाई हाम्रा समर्थकहरू र नेपाली क्रिकेटका लागि साँच्चिकै अविस्मरणीय बनाउन चाहन्छौँ ।”–रोबिन सिंहले भने ।
लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल छन् । यस्तै लुम्बिनीले दोस्रो सिजनका लागि विदेशी खेलाडीमा अष्ट्रेलियन डार्शी सर्ट र इटलीका बलर थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ र अन्य विदेशी खेलाडी पनि चाँडै घोषणा गरिनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology