देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन–२ अन्तर्गत आज बुधवार सम्पन्न दुई खेलमा शीतलनगर सुपर स्टाईकर्स र खैरेनी ग्लाडियटर्स विजयी भएका छन् । बुधवारको पहिलो खेलमा शीतलनगरले टटेरालाई २० रनले पराजित गर्यो । टस जितेर ब्याटिङ्ग रोजेको शीतलनगरले ६ विकेटको क्षतीमा ११३ रनको योगफल तयार गर्यो । डिपिएल सिजन २ को अहिलेसम्मको उच्च योगफल तयार पार्न शीतलनगरको लागि सुरज खड्काले २६, दिवाकर पंगेनीले २५, तथा गोलु शाहले ३ छक्का र १ चौका सहित २५ रन तथा मन्जित हरिजनले १६ रनको योगदान दिए । टटेराका विपिन भट्टराईले २, सुरज सारुले १, बिभेस खातीले १ तथा एजाज अहमदले १ विकेट हात पारे ।
११४ रनको लक्ष्य पच्छाएको टटेरा पुरै ओभर खेल्दै ९ विकेटको क्षतीमा ९३ रनमा समेटिएपछि खेल शीतलनगरले जितेको हो । टटेराको लागि डेभिड थापाले २३ रन, सुरज सारुले १६ र बिपिन भट्टराईले १२ रनको योगदान गरेपनि त्यो जीतको लागि प्रयाप्त भएन । खेलमा अशोक यादवले ३, मञ्जित हरिजनले ३ तथा सागर लामिछाने र मनिष क्षेत्रीले १÷१ विकेट हात पारे । यो जीतसंगै शीतलनगरले जितको पहिलो खाता खोलेको छ भने टटेराले आफुले खेलेका दुवै खेलमा हार व्यहोरेको छ । खेलमा म्यान अफ दि म्याच शितलनगरका अशोक यादव भए । उनले ३ ओभरमा मात्र १० रन दिएर ४ विकेट हात पारेका थिए ।
यस्तै आजै सम्पन्न दोश्रो खेलमा टस जितेर खैरेनीले ढेकावर योद्धालाई ब्याटिङ्गको निम्तो दियो । ढेकावरले १८.३ ओभरमा अल आउट हुँदै ५८ रन बनायो । डिपिएल सिजन २ को हालसम्म सबैभन्दा कम योगफल तयार गरेको ढेकावरले ३ विकेटले हार व्यवहोर्न वाध्य भयो । ढेकावरको लागि सम्राट थापाले १५ र रमेश मगरले ११ रन बनाउनु बाहेक अन्य ब्याट्समेनले दोहोरो अंक छुन सकेनन् । ढेकावरलाई सस्तैमा समेट्न खैरेनीका किशोर यादवले ३ विकेट हात पारे ।
मात्र ५९ रनको लक्ष्य सहित मैदानमा उत्रिएको खैरेनीले १४.३ ओभरमा सहज जीत हात पार्यो । खैरेनीका लागि सुरज गुप्ताले १२ रन, राम चालिसेले ११ रन तथा प्रेम भुर्तेल र मनिष मल्लाहले समान ८, ८ रनको योगदान गरे । खेलमा ढेकावरका अजय यादव र लाल बहादुर मल्लाहले ३, ३ विकेट र सम्राट थापाले १ विकेट लिएपनि टिमलाई जित दिलाउन सकेनन् । जितसंगै खैरेनीले लगातार २ खेलमा जित हात पारेको छ भने ढेकावरले आफ्नो पहिलो खेलमै हारको स्वाद चाखेको छ । खेलमा खैरेनीका किशोर यादव म्यान अफ दि म्याच घोषित भए । उनले ४ आभेरमा १ मेडनसहित १६ रन दिएर ३ विकेट लिएका थिए ।
प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेल ढेकावर र शीतलनगर तथा दोस्रो खेलमा भवानीपुरले पाकडीको सामना गर्नेछ । प्रतियोगिताको पहिलो खेल डिसियु क्रिकेट मैदानमा बिहान १० बजे हुने र दोस्रो खेल दिउसो १ बजे हुने आयोजक संस्था डि युनिटी युथ क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठले जनाएका छन् ।
असोज ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।
त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् । प्रतियोगिताका सबै खेल सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology