देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन २ अन्तर्गत मंगलवार सम्पन्न खेलमा भवानीपुर रोयल्स र खैरेनी ग्लाडियटर्स विजयी भएका छन् ।
देवदह क्रिकेट युनिटको ग्राउन्डमा भएको उद्घाटन खेलमा भवानीपुर रोयल्सले टटेरा डाईनामाईटलाई २ रनले पराजित गर्यो ।
टस हारेर ब्याटिङ्गको निम्तो पाएको भवानीपुरले १९ दशमलभ ५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनायो । टिमका लागि आशिष चौधरीले १७ रन, दिपसन गौतम र शेखर थारुले १०,१० रनको पारी खेलेका थिए । टटेराका लागि विभेस खातिले ३ विकेट, अजाज अहमद, सुरज सारु र विपिन भट्टराईले २,२ विकेट लिए ।
८१ रनको लक्ष्यका साथ मैदान उत्रिएको टटेराले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै ७८ रन मात्र बनाउन सफल भयो । टटेराका लागि डेभिड थापाले १६ रन, अजाज अहमदले १२ रन र रमेश रहुले १० रनको योगदान गरेपनि त्यो जितका लागि प्रयाप्त भएन ।
बलिङतर्फ भवानीपुर रोयल्सका सन्दिप अर्याल, सुन्दर केवट र दुर्गेश यादवले समान २, २ विकेट लिए । खेलको म्यान अफ द म्याच भवानीपुरका सन्दिप अर्याल भए ।
त्यसैगरी मंगलवार नै भएको दोस्रो खेलमा पहिलो सिजनको विजेता पाकडी प्यान्थर्सलाई खैरेनी ग्लाडियटर्सले पराजित गरेको छ ।
टस जितेर बलिङ्ग रोजेको खैरेनीले पाकडीलाई १८ दशमलव २ ओभरमा ६५ रनमा रोक्यो । ६६ रनको लक्ष्य सहित मैदानमा उत्रिएको खैरेनीले १३ दशमलव १ ओभरमा सहज जीत हात पार्यो । खेलमा खैरेनीका कमल जैसी म्यान अफ दि म्याच घोषित भए ।
डि–युनिटी युथ क्लबले आयोजना गरेको डिपिएलको मंगलवार एक कार्यक्रमका बीच देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर खत्रीले उद्घाटन गरे । उद्घाटनका क्रममा खेलाडीहरुलाई शुभकामना दिँदै खत्रीले खेलले मानिसलाई अनुशासित हुन सिकाउने भएकाले युवाहरु खेलप्रति आकर्षित हुनुपर्ने विचार व्यक्त गरे ।
प्रतियोगिता अन्तर्गत भोली बुधवार पनि २ वटा खेल हुने आयोजक डि–युनिटी युथ क्लवका अध्यक्ष सचिन कुमार श्रेष्ठले जानकारी दिए । भोलीको पहिलो खेलमा सितलनगर सुपर स्ट्राइकर्सले टटेरा डाइनामाइटको सामना गर्नेछ । भने दोस्रो खेलमा ढेकावर योद्धा र खैरेनी ग्लाडियटर्स बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेल सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology