बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण रुपन्देहीमा क्षति पुगेका कार्यालय, व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरूको बिहीबार अनुगमन गरेका छन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनमा आगजनीका कारण सेवा प्रवाह प्रभावित भएपछि मुख्यमन्त्री आचार्यले प्रभावित संरचनाको अवस्था बुझ्न अनुगमनलाई निरन्तरता दिएका हुन् । यसअघि उनले अर्घाखाँची, प्यूठान, दाङ र बाँकेमा अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन संघीय सरकारसँग माग गरे ।
प्रदेश सरकारले सेवाग्राही र कर्मचारीको मनोबल उच्च बनाउन पहल थालेको मुख्यमन्त्री आचार्यको भनाइ छ । “आगजनी, तोडफोड र लुटपाटका कारण सेवा प्रवाहमा समस्या भएको छ । त्यसलाई पुनः स्थापित गर्न अस्थायी रुपमा टेन्ट टाँगेर भए पनि अत्यावश्यक सेवा सुरु गरिएको छ । कतिपय कार्यालयले सेवा दिन थालेका छन् ।” उनले भने ।
रुपन्देहीमा आन्तरिक राजस्व कार्यालय, सिद्धार्थनगर नगरपालिका, नापी कार्यालय, नगर प्रमुख तथा उपप्रमुखको घर, युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेको घर, जिल्ला ट्राफिक कार्यालय भैरहवा, भैरहवा भन्सार कार्यालय, मणिग्रामस्थित वालकृष्ण खाडको निवास, ड्रिमल्याण्ड होटल, पूर्व मुख्यमन्त्री लिला गिरीको निवास, नेकपा एमाले प्रदेश पार्टी कार्यालय, इलाका प्रशासन कार्यालय, बुटवल उपमहानगरपालिका, उच्च अदालत बुटवल, प्रदेश प्रमुख कार्यालय, प्रदेश लोकसेवा आयोग, बेलबासस्थित नापी कार्यालय, मालपोत कार्यालय र यातायात कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनका क्रममा प्रदेशभर १३२ सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । त्यस्तै ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका कार्यालय र १४ प्रहरी कार्यालयमा समेत क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology