दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले युवालाई रोजगारीका खोजकर्ता मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको उल्लेख गरे । नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलताका नवीनतम योजना सञ्चालन गरी युवालाई उत्पादन, रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए ।
युवाको उद्यमशीलता प्रवद्र्धनका लागि ब्याज अनुदानलगायतका प्रोत्साहनमूलक कार्यक्रमलाई प्रदेश सरकारले अघि बढाएको र त्यसलाई बजेटमार्फत समेत सम्बोधन गरिएको मुख्यमन्त्री आचार्यले बताए । ‘राष्ट्र निर्माणका प्रमुख शक्ति र परिवर्तनका संवाहक युवाहरू वर्तमानका हिस्सेदार पनि हुन्,’मुख्यमन्त्री आचार्यले सन्देशमा भनेका छन्,‘युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके मात्रै समृद्ध, आत्मनिर्भर र समुन्नत समाज निर्माण गर्न सकिन्छ ।’
उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाको सार्थक सहभागिता अपरिहार्य रहेको बताए । युवालाई कुलत, सामाजिक विकृति र विसंगतिबाट टाढा राख्दै ज्ञान, सीप, सिर्जनशीलता, प्रविधि, खेलकुद, उद्यम तथा सामाजिक सेवाका क्षेत्रमा अघि बढाउन राज्य, परिवार र समुदायको साझा प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
युवाको क्षमता र सम्भावनालाई देश निर्माणमा उपयोग गर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले युवालाई अवसर, सीप र जिम्मेवारी प्रदान गर्दै नेतृत्व विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।
समावेशी, आत्मनिर्भर र समृद्ध लुम्बिनी निर्माणमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय युवा दिवसले युवामा रहेको क्षमता, सम्भावना र सिर्जनशीलतालाई समाज तथा राष्ट्रको हितमा उपयोग गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology