देवदह । राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले देवदह स्थित क्रिकेट मैदानको स्थलगत अवलोकन गरेका छन् । बुधवार नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डे सहित मैदानमा पुगेर आचार्यले अवलोकन गरेका हुन् ।
सो अवसरमा उनले पछिल्लो क्रमका देशभर क्रिकेटको क्रेज बढिरहेको उल्लेख गर्दै डिसियु मैदानलाई अन्तराष्ट्रिय मापदण्डको बनाउन आवश्यक रहेको बताए । ‘यो मैदान व्यवस्थापनको लागि स्थानीय निकायले पहलकदमी लिनुपर्यो । मैले मेरो तर्फबाट के सहयोग गर्नुपर्छ त्यो गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ उनले भने, ‘यहाँ प्रसस्त जग्गा समेत रहेकाले यसलाई विस्तार गर्न परेको खण्डमा समेत सहजता हुन्छ ।’
उपाध्यक्ष आचार्यले देवदह क्रिकेट मैदानको विकासको लागि १०÷२० लाख खर्च गरेर नहुने भन्दै यसलाई राष्ट्रिय योजनामा पारेर जान सके यसको विकास छिटो हुने धारणा व्यक्त गरे । नगरपालिकाले यसलाई स्थानीय गौरवको योजना बनाएर संघिय सरकारमा योजना पेश गर्नुपर्ने उनको धारणा छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको केन्द्रिय अध्यक्ष समेत रहेका आचार्यले आँफु जहिले पनि खेलकुदको विकासको लागि सकारात्मक रहेको बदाउँदै देवदह क्रिकेट मैदान क्षेत्रलाई क्रिकेट एकेडेमीको रुपमा विकास गर्न सकिने अवधारणा प्रस्तुत गरे । अवलोकनका क्रममा आचार्यले देवदहका प्रतिनिधिहरुसँग खेल मैदानको बृहद डिपिआर निर्माण गरेर अघि बढ्न सुझाव दिए ।
बुटवलका स्थायि वासिन्दा रहेका आचार्यले बुधवार नै रुपन्देहीको भैरहवामा निर्माणाधीन सिद्धार्थ क्रिकेट मैदानको समेत निरीक्षण गरेका छन् । उपाध्यक्ष आचार्यसहितको टोलीले मैदानको निरीक्षण गर्दै बहुवर्षीय ठेक्का लगाई निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । निरीक्षण पछि पत्रकारहरुसँग कुराकानी गर्दै उपाध्यक्ष आचार्यले रंगशाला निर्माणको काम पूरा गर्न राखेपले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
‘हामी सबैले हातेमालो गरेर यो रंगशाला निर्माण सक्नुपर्छ’, उनले भने, ‘बहुवर्षीय ठेक्का लगाउन सकियो भने चाँडै निर्माण सम्पन्न गर्न सकिन्छ ।’ उनले स्रोतको सुनिश्चितता गर्न विभागीय मन्त्रालय र अर्थमन्त्रालयसँग छलफल गर्ने बताए । गत हप्ता उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समेत रंगशालाको निरीक्षण गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए ।
नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव तथा रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले डीपीआर अनुसार करिब १५ हजार हाराहारी दर्शक अट्ने रंगशाला बन्ने बताए । उनले चालु वर्षमा ३ करोड रुपैयाँ विनियोजन भएको जनाउँदै उक्त रकमबाट प्याराफिट बनाइने बताए ।
निरीक्षणका क्रममा संघका उपाध्यक्ष धीरज क्षेत्री, सदस्यहरु विजयसिंह ज्ञवाली, मनोज भण्डारी, उदयकुमार मल्लिक लगायत सहभागी थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology