देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र चीनको शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानबीच देउखुरीमा शिष्टाचार भेट भएको छ ।
भेटमा मुख्यमन्त्री आचार्यले जीतगढी किल्ला, निग्लीहवा, तिलौराकोट, रामग्रामलगायतका ऐतिहासिक तथा धार्मिक स्थललाई बौद्ध सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न चीनसँग सहकार्य गर्न सकिने बताए । उनले राजधानी क्षेत्रमा सांस्कृतिक तथा नदी सभ्यतामा आधारित नमुना शहर निर्माण, मोनोरेल सञ्चालन, हरित ऊर्जा, वातावरणमैत्री यातायात र कृषि–उद्योग प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने इच्छा व्यक्त गरे ।
शान्सी प्रान्तका उपसभामुख चाङले पर्यटन पूर्वाधार, स्मार्ट सिटी निर्माण, सौर्य तथा वायु ऊर्जा, प्राविधिक शिक्षा, सीपयुक्त जनशक्ति विकास र जडीबुटी प्रशोधनलगायत क्षेत्रमा सहकार्य सम्भव रहेको बताए ।
भेटमा लुम्बिनी प्रदेशका प्रमुख सचिव बावुराम अधिकारीले प्रदेशका प्राथमिकता क्षेत्रहरू-पूर्वाधार विकास, दिगो पर्यटन, कृषि आधुनिकीकरण, औद्योगिकीकरण, हरित विकास, मानव पूँजी विकास, निजी क्षेत्रको संलग्नता तथा सुशासनका पहलबारे जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology