काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । राज्यका हरेक निकायमा महिलाको समान सहभागिता, मर्यादित रोजगारी र कार्यस्थलमा महिला हिंसा न्युनिकरणका लागि सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले संगठित तथा असंगठित क्षेत्रमा कार्यरत महिलालाई सामाजिक सुरक्षा कोषमा सहभागि गराउन सरकार प्रतिवद्ध रहेको पनि बताए ।
रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ । सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा आफ्नो प्राथमिकतामा रहेको मन्त्री श्रेष्ठले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology