देवदह । देवदह बुद्ध पब्लिक आवासीय मा.विले विहिवार कृष्ण जन्माष्टमी पर्व मनाएको छ । विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा उनीहरुमा चौतर्फी विकास गराई संस्कृतिसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रम शुभारम्भ गर्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले पछिल्लो समय बालबालिकाहरुमा संस्कृति प्रतिको चासो घटिरहेका बेला संस्कार सिकाउनका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘विद्यार्थीलाई आफ्नो संस्कार र संस्कृतिसँग परिचित बनाउन यस्ता कार्यक्रमले सहयोग गर्नेछन् ।’
विभिन्न तहमा सञ्चालन गरिएको कार्यक्रममा कृष्णको पोशाकमा सजिएका प्रि.प्राइमरी तर्फका विद्यार्थीहरुलाई सुनवल स्थित कृष्णको मन्दिर अवलोकन गराइएको छ । यस्तै पूर्व प्रा.वि तर्फका विद्यार्थीहरुले कृष्णको बारेमा आफ्नो वक्तृत्वकला प्रस्तुत गरे । कृष्णको मन्दिर भ्रमणपछि विद्यार्थीहरुबिच घैँटोफोर कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
यसैगरी प्रा.वि., नि.मा.बि र मा.वि तहका विद्यार्थीहरुलाई नेपाली शिक्षकहरुबाट कृष्णको बारेमा प्रवचन दिइएको थियो ।
विभिन्न चरणमा सञ्चालित कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशी, रोशी गुरुङ्ग, कक्षा ११, १२ इन्चार्ज अनन्तराम भण्डारी, मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, प्रा.वि इन्चार्ज अञ्जली वली, पूर्व प्रा.वि इन्चार्ज अस्मिता गुरुङ्ग, प्रि प्राइमेरी इन्चार्ज मनमाया रुचाल लगायत तहगत शिक्षक शिक्षिकाको उपस्थिति थियो ।
यसैबिच विहिवारनै विद्यालयमा गठित आई टि क्लवले पहिलो चरणको आईटि प्रतियोगिता सञ्चालन गरेको छ । तीन चरणसम्म सञ्चालन गरिने प्रतियोगिताका विजयी विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिने अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डीराज मरासिनीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology