भनिन्छ, राजनीति सम्भावना र चुनौतीको खेल हो तर, नेपालका कुनैपनी दलहरुसंग देश बनाउने चुनौती नै छैन। अझ भन्ने हो भने उनिहरुमा गुट बलियो बनाउने चुनौती मौलाएको देखिन्छ। त्यसैले त आफ्नै पार्टीको आन्तरिक प्रतिस्पर्धामा समेत गुटगत करोडौं रकमको चलखेल हुने गरेको पाईन्छ।
सत्य त यो होकि; नेपालका राजनीतिज्ञहरु र राजनीतिक दलहरुसँग अबको १० वर्षपछिको नेपालको परिकल्पनै छैन । २०, ५० र १ सय वर्षपछिको नेपाललाई कहाँ पुर्याउने भन्ने त परको कुरा भयो । भनिन्छ, नेताले चुनावका बारेमा सोच्छ, तर राजनीतिज्ञले त आउने पिढीलाई सोचेर योजना बनाई राजनीति गर्छ ।
तर दुर्भाग्य, हामीले अहिलेका राजनीतिक घटनाक्रम हेर्दा नेपालका राजनीतिज्ञले त आउने चुनावकै बारेमा पनि सोचेर जिम्मेवार बनेको पाईदैन । निर्वाचनमा टिकट कसरी हात पार्ने ,जनतालाई कसरी मायाजालमा पारेर भोट खसाल्ने त्यो भन्दा बढी उनिहरुले सोचेको पाईदैन। निर्वाचनबाट परास्त भइन्छ कि भनेर सतर्क हुने राजनीतिज्ञले व्यक्तिगत स्वार्थ त्यागेर काम गर्न सक्नुपर्ने हो, तर त्यस्तो कहिँकतै देखिँदैन ।
राजनीति सपना र योजनानै नभएका ब्यक्तिहरुको मात्र सरोकारको विषय बन्दैछ ।हिजोका राजनीतिज्ञसँग राजनीतिक परिवर्तनको सपना र योजना थिए, जसले उनीहरू राजनीतिक परिवर्तनका लागि सफल भए ।परिवर्तनपछि उनीहरूले पनि आफ्नो सपना बदल्न सकेका छैनन् । सपनै नबदलेपछि नयाँ योजना बन्ने त कुरै भएन । नागरिकको दबाबका कारण अहिले सबै दल आर्थिक विकासको कुरा गर्न थालेका छन् ।तर त्यसको बलियो आधार उनीहरूसँग छैन, किनकि दलगत संरचना नै त्यस्ता खालका बनेका छैनन् ।
महंगो चुनाव प्रणाली भ्रष्टाचारको जड जान्दाजान्दै पनि त्यसतर्फ कुनै दल वा राजनितिज्ञको ध्यान गएको पाईदैन। आज देशका मुख्य सहरहरूको मोडेल कस्तो बन्ने, बस्तीहरूको संरचना कस्तो बनाउने, विपतका बेलामा बस्तीहरूमा राज्यका जिम्मेवार निकाय कसरी पुग्ने, विश्वव्यापी देखिएको पर्यावरणीय समस्यामा नेपालले के गर्ने, निर्माण र वातावरणीय सन्तुलनलाई कसरी सँगसँगै अघि बढाउने भन्ने जस्ता विषयमा सामान्य बहससमेत भएका छैनन् ।
लामो कसरतपछि स्वास्थ्यका सेवामा केही सुधारका संकेत देखिए पनि जनताले न्यूनतम सुविधा अझै पाउन सकेका छैनन् ।यसतर्फ हाम्रो राजनीतिमा व्यवस्थित बहससम्म सुरु हुन सकेको छैन । आफ्नै आन्तरिक प्रतिस्पर्धामा फसेका राजनीतिककर्मिहरुले वर्तमान बाहेक भविस्य कदापी सोच्न सक्दैनन् ।
पार्टी विधान र चुनावी प्रचारमा जे-जस्तो भनिए पनि स्पष्ट लक्ष्य र सामान्य खाका समेत उनिहरुसंग छैन।तसर्थ नेपालका दलहरु र राजनीतिज्ञसंग भविस्यको कुनै ठोस योजना र परिकल्पना नै छैन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology