काठमाडौं । सरुवा निर्णय कार्यान्वयन नगरेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ ।
मन्त्रालयका अनुसार गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा गरिएको भए पनि उनी सरुवा भएको कार्यालयमा हाजिर नभई पुरानै पालिकामा काम गर्दै आएका थिए ।
त्यस्तै, गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई समेत हाजिर गराएको थिएन। सरुवा निर्णय कार्यान्वयन नगरी पुरानै कर्मचारीलाई निरन्तर काममा लगाइएको भन्दै मन्त्रालयले गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन गाउँपालिकालाई निर्देशन दिएको छ ।
आर्थिक अधिकार रद्द गरिएको विषयमा मन्त्रालयले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै गाउँपालिकाको खाता सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology