बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाह्य पर्यटक भित्र्याई उनीहरूलाई धार्मिक तथा पर्यटकीय स्थलहरूमा धेरै दिनसम्म भ्रमण गराउने वातावरण सिर्जना गर्न अपरिहार्य रहेको बताएका छन्।
सैनामैनामा आयोजित एक महिने श्री शिव महापुराण श्रृङ्गारिक महोत्सव, नन्दी प्राणप्रतिष्ठा तथा बोलबम महा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशमा पर्याप्त धार्मिक र पर्यटकीय गन्तव्यहरू भए पनि आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माण अझै चुनौतीपूर्ण रहेको बताए।
“जबसम्म हामी बाह्य पर्यटकलाई लुम्बिनी प्रदेशमा भित्र्याउन सक्दैनौं, तबसम्म पर्यटन क्षेत्रको दिगो विकास सम्भव हुँदैन। अहिले पनि पर्यटकहरू आइरहेका छन्, तर उनीहरूलाई रोक्न सकिरहेका छैनौं,” मुख्यमन्त्री आचार्यले भने, “घुम्न लायक गन्तव्यहरू निर्माण गर्न जरुरी छ।”
धार्मिक स्थलहरूको विकासमा संघ, प्रदेश र स्थानीय तहको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले धार्मिक पर्यटनको सम्भावना भएका क्षेत्रहरूको समुचित विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार समृद्ध लुम्बिनीको आकांक्षा पर्यटन विकासबाट सम्भव छ। त्यसका लागि तराई, पहाड र हिमाल समेटिएको प्रदेशमा लुम्बिनी पर्यटन सर्किटको योजना अघि बढाइएको छ, जसले विविध भूगोलमार्फत पर्यटकलाई आकर्षित गर्न मद्दत गर्नेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology