कविता : आँखी झ्यालबाट चिहाउँदा
पार्टीको सर्वोच्च लगाम समातेर
उसले उर्दी दियो पेरेस्त्रोइका !
'उतार पार्टीका सारा रक्षा कवजहरु,
म आएँ जिससको संदेश बोकेर !'
शक्तिको दिव्य वचनमा बानी परेकाहरु
आलोचनात्मक चेत उहिले कतै किलामा झुण्ड्याकाहरु
सबका सब ठण्डाराम
स्वामीभक्त सेवक जस्तो
गरुडको छाँया साँपमा परे जस्तो
हुँदा हुँदा
सेन्ट पिटर्सवर्गमा जारलाई कठालो
समात्ने क्रान्तिकारीहरु
लेनिनको लास उठाउने श्रमिकहरु
हिटलरका सेनालाई धुलो चटाउने सिपाहीहरु
सम्मोहित, उसरी नै नतमस्तक
कोही ठानेर जुठोपुरो चाट्न पाइन्छ
कोही जडौरी देलान् कि भन्ठानेर
कोही 'नोमेनक्लेचुरा'मा उक्लिने मौका ठानेर
ठानी बसे सबै सबै,
हो त नि लेनिनको उत्तराधिकारी
बर्साउछ फुरौला उसले अब आकाशबाट
रोटी, जाम र घुटुक्क घुटुक्क पिउने भोड्काका
बोतलका बोतल पनि
रंग रंगिला गर्न पाइने भो
अनि भने नाचिने भो मस्तसंगले
झुम शरावी झुम !
अझ
महासचिवले अर्को घोषणा गरे
ग्लासनोस्त !
कोठा चोठामा वैरीहरू आए
दुर्ग दुर्ग ति भ्याए
उनीहरुले प्रविधि हस्तान्तरण गर्ने मिति तोके
र भने, 'हामी तिमेरलाई उ दिनको जानकारी गराउने छौं
कतिखेर टाइगरमा औंला दवाउने हो |'
जब उ दिन आयो
पार्टीको अर्को जखमले
बाघले बाख्रो घिसारे झैं
आफ्नो महासचिवलाई उर्दी दिदै 'थ्यो,
'पार्टीको कफनमा अन्तिम किलो ठोक !'
हेर्दा हेर्दै, चुपचाप सब काम तमाम
छताछुल्ल संघ, शिशा फुटे झैँ !!
कास ....!!
यो पनि त कात्रो हो
मरेका लासहरुलाई ओडाउने
इतिहासले भर्खरै भर्खरै छाडेको |
सर्जक : टंक कार्की (अगस्ट १४, २०२०) स्रोत : सर्जकको सामाजिक संजाल
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology