बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । शनिबार रुपन्देहीमा आयोजित राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नव निर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सञ्चार क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।
"हरेक विषयमा नकारात्मक सोच हावी हुने प्रवृत्ति छ," मुख्यमन्त्रीले भने, "सुरुमा नकारात्मक कुरा दिमागमा बसेपछि पछि राखिएका सकारात्मक सन्देशले असर गर्न सक्दैन । त्यसैले हामी संवेदनशील बन्नु आवश्यक छ र सकारात्मक धारणा फैलाउने काममा मिडिया अगुवा बन्नुपर्छ।"
प्रदेशको समृद्धि र विकासका लागि सञ्चार माध्यमहरूले सम्भावना पहिचान गर्दै रचनात्मक भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
"मुलुक बनाउने जिम्मा बाहिरका कसैको होइन, हामी आफैंले बनाउनु पर्छ," उनले भने ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार समस्या सुन्ने र समाधान कार्यान्वयन गर्ने प्रक्रियामा सक्रिय रहेको पनि स्पष्ट पारे ।उनका अनुसार मिडिया संस्थाहरूको वृद्धि अनुसार सरकारले बजेटको आकार पनि बढाउँदै लगेको छ । "राजस्वमा डेढ अर्ब रुपैयाँले वृद्धि गरेका छौं," उनले भने, "सुरुमा योजना कम थिए, अहिले ती योजना विस्तार भएका छन् ।"
सञ्चार क्षेत्रका लागि अघिल्ला वर्षहरूभन्दा बढी बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले १२ वटै जिल्लालाई समान दृष्टिकोणका साथ प्राथमिकता दिइएको बताए । साथै, सञ्चारकर्मीको हकहितका लागि सरकार निरन्तर वकालत गरिरहेको उनले बताए ।
"सञ्चार समन्वय परिषद्को भूमिका थप प्रभावकारी बनाउन कानुनी सुधारको प्रक्रिया अघि बढाइएको छ," उनले भने, "सञ्चार ऐन अहिले अर्थ मन्त्रालयमा छ, मन्त्रिपरिषद् हुँदै यही वर्षको अधिवेशनमा सदनमा प्रस्तुत हुनेछ र आवश्यक सुधार यही वर्ष हुनेछ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology