बुटवल । प्रकाशन तथा प्रसारण समाज रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले सञ्चार क्षेत्रमा मनोमानी ढङ्गले बजेट वितरण गरिएको आरोप लगाएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै समाजले पहुँचका आधारमा बजेट विनियोजन गरिएकोमा गंभिर ध्यानाकर्षण भएको जनाएको हो ।
समाजका अध्यक्ष नवराज कुँवर र सचिव माधव नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेटमा राज्य सबैको साझा हो भन्ने मान्यतालाई लत्याएर आफ्ना वा आफ्ना पंहुचका सञ्चार माध्यमलाई छानी छानी विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको पाइएको जनाएको छ ।
बजेटमा तोक आदेशको भरमा निजी सञ्चार माध्यमका घर बनाउने, पर्खालले घेर्नेदेखि लिएर उपकरण खरिद गर्ने जस्ता शीर्षकमा बजेट छुट्टाइनु बेतिथिका उच्च नमुना भएको विज्ञप्तिमा उल्लेख छ ।
सञ्चार माध्यमका प्रतिनिधिमूलक सङ्घ संस्थाहरूले व्यवसायिक र गुणात्मक पत्रकारीताका लागि समानुपातिक विज्ञापन वितरणको व्यवस्था गर्न अनुरोध गर्दै समाजले सञ्चार माध्यमलाई नगद अनुदान भन्दा पनि समानुपातिक विज्ञापन वितरण प्रणालीलाई अङ्गीकार गरी ”सवैका लागि राज्य” भन्ने मूलभूत सिद्धान्तलाई महसुस हुने गरी लागु गर्न माग गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology