काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेदरल्याण्डसविरुद्ध खेल्दै छ ।
स्कटल्याण्डको डुनडीमा हुने यो खेलमा नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
यस सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गर्दै विजयी शुरुवात गरेको छ ।
नेपाल र नेदरल्याण्डसले अहिलेसम्म ५ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले २ खेल जितेको छ भने नेदरल्याण्डसले ३ खेल जितेको छ ।
स्कटल्याण्डसहित नेपाल र नेदरल्याण्डसले यो सिरिज खेल्दैछन् । यो सिरिज जुन १० सम्म हुने छ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ । लिग-२ को अंक तालिकामा नेपाल पुछारमा रहेको छ ।
अहिलेसम्म १३ खेल खेलेको नेपालको ८ अंक सहित सातौं स्थानमा रहेको छ । हाल अंक तालिकामा अमेरिका शिर्ष स्थानमा रहेको छ । अमेरिकाको २० खेलमा २८ अंक छ । त्यस्तै यो सिरिज खेल्न लागेको नेदरल्याण्डसको २० खेलमा २६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी स्कटल्याण्डको १७ खेलमा २० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।त्यस्तै त्रिकोणात्मक टी- २० सिरिज खेल्ने टिममा किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम सहभागी हुने छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology