काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले देशका कम्युनिस्ट दलहरू नसुध्रिए आगामी आम निर्वाचनमा जनताले बढार्ने चेतावनी दिएका छन्।
शनिबार काठमाडौं–८ मा पार्टीले आयोजना गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले अहिलेका ठूला भनिएका पार्टीहरू, कांग्रेस र एमाले, सत्ताको स्वार्थमा डुबेर भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए। उनले आफ्नै दलले पनि विगतमा सिद्धान्तभन्दा सत्ता नजिक रहन खोज्दा राष्ट्रिय पार्टी बन्न नसकेको स्वीकार गरे।
खनालले भने, “हाम्रो पार्टी राष्ट्रिय पार्टी बन्न नसक्नुको प्रमुख कारण कांग्रेस र माओवादीसँग सत्ताको लागि गठबन्धन गर्नु हो। विचार र सिद्धान्त जनतामाझ प्रस्ट्याउन नसक्दा विश्वास गुमेको हो।”
उनले विगतका गल्तीहरूबाट पाठ सिकेर अबको चुनावमा एकीकृत समाजवादीले एक्लै प्रतिस्पर्धा गर्ने नीति लिएको स्पष्ट पारे। कार्यक्रममा सहभागी कार्यकर्ताहरूलाई उनले आगामी निर्वाचनमा सिद्धान्त, नीति, र जनताप्रतिको प्रतिबद्धता लिएर अगाडि बढ्न निर्देशन दिए।
एमालेप्रति पनि उनी आक्रोशित देखिए। उनले भने 'दक्षिणपन्थी प्रवृत्तिले एमालेको नेतृत्व सम्हालिरहेकाले त्यो पार्टी अधोगति र पतनको दिशामा अघि बढिरहेको छ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology