काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबिच भएको ९ बुँदे सहमतिमाथि असन्तुष्ट व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ ।
काठमाडौंमा २७ दिनदेखि जारी आन्दोलनपछि शिक्षा मन्त्रालय र महासंघका पदाधिकारी वैशाख १७ गते ९ बुँदेसहित भई आन्दोलन स्थगित गरिएको थियो । तर विद्यालय कर्मचारी परिषद्ले विभिन्न शिक्षक संस्थाका अध्यक्षहरूलाई मुकदर्शक बनाएर गरिएको धोकापूर्ण वार्ता गरिएको भन्दै विरोध जनाएको छ । परिषद्ले महासंघ र सरकारलाई बुझाएको संस्थागत धारणाको मर्मअनुरूप विपरित हुनेगरी तथा विद्यालय कर्मचारीको अल्पमतलाई पूर्णरूपमा बेवास्ता गर्दे एकलौटी गरेको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले परिषद्ले महासंघको नेतृत्वले निजामती सरहको ग्रेड मिलान, स्थायी र सबै प्रकारका शिक्षकहरूका लागि दुर्गम भत्ता प्राप्त गर्ने, मर्यादाक्रममा शिक्षकलाई राख्ने, निमावि प्रथम श्रेणीका शिक्षकको तलब ग्रेड मा.वि. द्वितीय श्रेणीको शिक्षक सरह हुने लगायतका सहजातिय सेवा सुविधाजन्य गतिविधिमा तिब्र लबिङ गरेर विद्यालय कर्मचारीलाई सडकमै बिना सूचना छाडिदिएको भन्दै आपत्ति जनाए ।
विद्यालय कर्मचारी परिषद्ले शिक्षक कर्मचारीबीचको विभेद अन्त्य गर्नुपर्ने, हालसम्मका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गराउनुपर्ने, तलबमान कायम गराउनुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएको समयमै शिक्षा ऐन जारी गराउनुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।
विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघले विद्यालय कर्मचारीको सेवा सुविधालाई बेवास्ता गरेर आफ्ना ग्रेड समायोजन र दुर्गम भत्ताको कुरा ल्याएको बताए । सरकार र महासंघबीच भएको एकलौटी सहमतिलाई कदापि स्वीकार नगर्ने चेतावनी दिदै उनले सरकार र महासंघलाई विद्यालय कर्मचारीको तागत देखाइदिने जिकिर गरे ।
परिषद्ले आन्दोलनको लागि बब्बन मिश्राको संयोजकत्वमा १५ सदस्यीय आन्दोलन पचिालन समिति गठन गरेको छ । आन्दोलन स्वरुप परिषद्ले वैशाख २१ गतेदेखि जेठ तीन गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७ सय ५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनको बारेमा जानकारी गराउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
त्यस्तै जेठ ७ गते ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गराउने र ध्यानाकर्षण सहित सामाजिक विकास मन्त्रालयमा पत्र बुझाउने र जेठ १० गतेदेखि काठमाडौंस्थित माईतीघर मण्डलामा सडक आन्दोलन शुरु गर्ने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology