ज्ञान आर्जन गर्ने विभिन्न विधि हुन्छन्। नेपालमा गुरुकुल देखि हालसम्म विभिन्न प्रकारको शिक्षा आर्जन गर्ने बिधिहरु विकास हुँदै आएका छन। ज्ञान आर्जन औपचारिक शिक्षाबाट मात्रै हुन्छ भन्न्न मिल्दैन। विश्वबजारमा विकसित आजको विश्वब्यापीकरणको प्रभाव अनुसार औपचारिक शिक्षाको विषयवस्तु र दायरा फराकिलो बन्दै गइरहेको छ। नेपालमा राणाकालीन समयमा नै विद्यालय शिक्षाको सुरुवात भएको हो।
नेपाली शिक्षाप्रणाली आयातित हो भन्दा फरक पर्दैन। विश्वबजारमा खपत हुने जनशक्ति नेपालबाट परिपुर्ति गर्न सहज बनाउन अङ्ग्रेजी भाषालाई प्राथमिकता दिएको देखिन्छ। हामी विश्वका जुनसुकै देशमा नेपालको डीग्री लिएर दक्ष कामदारको रुपमा जान कठिन छ। नेपालको औपचारिक शिक्षाको लागि सरकारी, सार्वजनिक, निजि तथा गुठीजस्ता शैक्षिक संरचना विद्यमान छन। हाल ६५-७० लाख बालबच्चादेखि युवायुवती विद्यार्थीको रुपमा अध्ययनरत छन। नेपालको शिक्षालाई ब्यबस्थित गर्ने कानुन शिक्षा ऎन २०२८ हालसम्म कार्यान्वयनमा छ।
नेपाली बजार तथा विश्वबजारमा हामीले यो शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति अत्यन्तै अदक्ष छ भन्दा फरक पर्दैन। वकिल, आइटी क्षेत्रका जनशक्ति, केही इन्जिनियर ,चार्टर्ड अकाउन्टेन्ट र डाक्टर बाहेक हामिले उत्पादन गरेका हाम्रो जनशक्तिलाई देशभित्र या अन्य देशमा स्वरोजगार बनाउन कठिन भैरहेको सत्य हो। यसरी राज्यले शिक्षामा खन्याउदै आइरहेको बजेटको उपलब्धि मापन सहि तरिकाले भैरहेको छैन। बार्षीक ५-६ लाख युवा विद्यार्थी श्रमबजारमा आउछन, तीमध्ये ८० प्रतिशत युवाहरूलाई खाडी मुलुक जान बाध्य पारेको छ यो शिक्षाले। हाल शिक्षा विधेयक २०८० को ड्राफ्ट संसदमा पेश भैसकेको छ। यसको चिरफार सडकमा देखिएको शिक्षक आन्दोलन र निजि क्षेत्रमा लगानी गरिरहेका लगानीकर्ताको मौनताले प्रष्ट पारेको छ।
कस्तो हुनुपर्छ नेपालको शिक्षा ?
बर्तमान नेपालको शिक्षा पुर्णतः असफल छ। यसको लगानी बालुवामा पानी खन्याए सरी भएका छन। गाउँगाउँमा शिक्षक र विद्यार्थी संख्या बराबर भएका हजारौं स्कुल छन। यिनै विद्यालयबाट माध्यामिक शिक्षाको सदुपयोग मात्रै अस्ट्रेलिया, युरोप, जापान, क्यानडा पढ्न जानका लागि प्रवेशका देखिन थालेको छ। शिक्षा मन्त्रालय र नेपालको संसद जिम्मेवार बन्ने हो भने बर्तमान शिक्षाको कोर्स पुरै बदल्नुपर्छ। गाउँमा विद्यालय भवनमा कृषिजन्य उत्पादनको आधुनिक औजार, उत्पादनको गोदाम तथा प्राबिधिक ल्याबहरु बनाउनुपर्छ। बालबालिकालाई १-५ कक्षासम्म नेपाली, अङ्ग्रेजी, गणित, बिज्ञानका आधारभुत ज्ञान आर्जन गर्न सिकाउनु पर्छ। ५-८ कक्षामा अध्ययनरत बिशेष १० बर्ष भन्दा बढी उमेर भएका बालबालिकालाई समाज, यहाँको सस्कृती, नैतिक चेतना, आफ्ना घरपरिवारमा हुने सबै खालका कामहरु गर्न लगाउनेदेखि विभिन्न प्रबिधिमा बिधा छुट्टाएर अध्यापन गराउने र विभिन्न प्रोजेक्ट अभ्यास गराइनुपर्छ।
८- १२ कक्षासम्म भाइबहिनीहरु १३ बर्ष भन्दा माथी लाग्दा १६-१७ सम्ममा उनीहरुलाई उनीहरुले चाहेको क्षेत्रमा अब्बल बनाउन छुट्टै विद्यालय व्यवस्थापन गर्नुपर्छ। जस्तो खेलकुद विद्यालय, डाइभर बन्ने भए ड्राइभिङ स्कुल, मेकानिकल क्षेत्र हो त्यसकै विद्यालय सन्चालन गरेर व्यावहारिक सीपको विकास र औपचारिक प्रमाणपत्र सङ्गै प्रदान गर्नुपर्छ। ताकी विद्यार्थी १८ बर्षको हुदादेखि नै आफ्नो बाटो तय गरेर श्रम बजारमा योग्य कामदारको रुपमा प्रवेश गरोस।
आज नेपालको पुरानो हस्तकला, शिल्पी क्षेत्र पुरै तहसनहस छ। मौलिकता हराउँदै गएको छ। विभिन्न कालिगडहरुको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिएको छैन। हेरिटेज विश्वविद्यालय सन्चालन गर्न अत्यन्तै अबेर भैसकेको छ। विदेशी पर्यटकलाई बस्न, घुम्न र उचित गाइडिङ्ग गर्न र नेपालबाट उनिहरुले किनेर लैजाने हाम्रा प्राचीन कलात्मक बस्तुहरुको अभाव भैसकेको छ। हामीले हाम्रो मूल्य नै बिर्सिरहेका छौँ। हाम्रा विकासको मुख्य पुर्वाधार शिक्षा र यसको व्यावसायिकता दिनप्रतिदिन खस्कदो छ।
नेपालको अबको भबिस्य भनेको प्रविधि निर्यात, कृषि जन्य, खाद्यान्न, जडिबुटी, जल र खनिज पदार्थको कच्चापदार्थ उत्पादन गरेर निर्यात मार्फत मात्रै सम्भब छ। मेडिकल सेक्टरमा अध्य्यन गर्नेलाई औषधिको कच्चापदार्थ उत्पादन गर्न तालीम दिनुपर्ने हुन्छ। प्रत्यक बिधाको शिक्षक वा बिज्ञ को लागि हाल बिश्वमा छरिएर रहेका र देशभित्र नै रहनुभएका बिज्ञ टोलि बनाएर उचित कोर्सको निर्माण गरि प्रयोगमा ल्याउनुपर्छ। आजका बेरोजगार युवा उत्पादन गर्ने यो शिक्षा प्रणाली नै ध्वस्त नहुदा सम्म केही लाख शिक्षकको भबिस्य सृदृढ गर्नेबित्तिकै यो देश बन्ने छैन। त्यसैले देशको शिक्षण पाठ्यक्रम, पाठन पद्धति र आम मनोबिज्ञानमा नै रुपान्तरण गर्न धेरै ढिला भैसकेको छ।
अबको शिक्षाको बहस, कानुन सबै यो तहबाट बन्नु जरुरी छ। यदि हाम्रो युवाहरूलाई यहीँ देशमै रोक्ने हो वा आत्मसम्मान सहित विदेशमा काम गर्न सक्ने बनाउने हो भने हाम्रो शिक्षामा व्यावसायिकता ल्याउनैपर्छ। सुरुका केहि बर्षमा अध्यापन गराउने, अभ्यस्त गराउने प्रशिक्षकको अभाव हुनपनि सक्छ तर केही बर्षपछी हामी गर्व गर्नलायक जनशक्ति उत्पादन गर्ने देश बन्ने छौँ !
संविधानमा शिक्षालाई मौलिक हक लेखेर, समाजवाद उन्मुख राज्य भन्ने तर शिक्षामा पुरानै पाठ्यक्रम सोंच र पद्धति कायम राख्ने हो भने यो मुलुक कहिल्यै समृद्ध बन्दैन। राज्यको दायित्व राज्यले पूरा गर्न सक्दैन भने आम शिक्षाबिद,निजि क्षेत्रबाट आधुनिक प्रयोगात्मक, विश्वबजारमा सजिलोसँग खपत हुने र टिकाउ हुने शिक्षालय खोल्न तयार हुनुपर्छ। आजको विज्ञान र प्रविधिको जमानामा, कार्यघन्टाको तलब सेवा सुविधा पाइने समयमा हाजिर गरेकै भरमा आजिवन राज्यले पाल्नुपर्ने दायित्व देशको कानुन बन्नु हुँदैन । शिक्षक मात्रै होइन, सक्रिय उमेर सकिएपछि सबै जनताको राज्यले जिम्मा लिनुपर्छ । त्यसको लागि आजको शिक्षा प्रणाली परिवर्तन गर्ने खाका, कोर्स, योजनासहित कुनै ब्यक्ति संस्था वा समुह सडक आउँछ भने हामी सबैको भलो हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology