काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्षमा बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताएका छन् । सोमवार प्रदेश सरकारहरूसँगको बजेट छलफलका क्रममा मन्त्री पौडेलले चालु बीमा प्रणालीलाई निरन्तरता दिन ठूलो बजेटको आवश्यकता रहेको स्पष्ट पारे ।
गत आर्थिक वर्षमा बीमा कार्यक्रमका लागि साढे सात अर्ब रुपैयाँ मात्र छुट्याइएको स्मरण गराउँदै उनले त्यसबेलै अस्पतालहरूले बीमा बोर्डबाट लिनुपर्ने वक्यौता १६ अर्ब रुपैयाँ रहेको जानकारी गराए ।
“अब वक्यौता तिर्नेगरी पनि बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छ ?” भन्दै मन्त्री पौडेलले बजेट नभए प्रणाली संकटमा पर्ने चेतावनी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा मात्र महिनाको औसत खर्च दुई अर्ब रुपैयाँ पुगिरहेको छ । त्यसअनुसार १२ महिनाको खर्च २४ अर्ब हुन्छ भने अघिल्लो वर्षको बाँकी वक्यौता १३ अर्ब रुपैयाँ पुगेको छ । यी दुई रकम जोड्दा ३७ अर्ब पुग्छ, बीमा बोर्डको सञ्चालन खर्च समेत जोड्दा बजेट आवश्यकता ४० अर्ब पुग्ने मन्त्रीको दाबी छ ।
उनले भने, “४० अर्ब बजेट विनियोजन गरिएमात्र अहिलेको प्रणालीको बीमा चल्छ ।”
सरकारको लगानी र नागरिकको योगदानबाट बीमा बोर्ड सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले “नागरिकले योगदान नागरिक कोषमा गर्ने र सेवा बीमा बोर्डबाट लिने” मोडल उचित नहुने तर्क समेत गरेका छन् ।
मन्त्री पौडेलले अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा क्यान्सर, मुटु तथा जलन उपचार सेवा बिस्तार गर्नेगरी सरकार अघि बढिरहेको समेत जानकारी दिएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology