काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । ओलीले आईतवार साँझ ५ बजे सर्वदलीय बैठक बोलाएका हुन् । शुक्रवार काठमाडौंमा भएको राजावादीको प्रदर्शन र त्यसपछिका घटनाले यतिबेला राजनीतिक माहोल तातेको छ । आजको बैठकमा यहीँ विषयमा छलफल हुने एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।
आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । यसअघि पनि कुलमान घिसिङको बर्खास्तीका कारण पटक(पटक संसद अवरुद्ध हुँदै आएको थियो । आजै सभामुखसँग प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक भएको थियो । बैठकमा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए ।
उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको समेत जानकारी दिए। सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।
बैठकमा सभामुखले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरे । उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपील गरे । अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology