काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही दिनअघि स्वास्थ्य बीमाबारे दिएको सार्वजनिक अभिव्यक्ति अहिले विवादमा परेको छ । अघिल्लो साता काठमाडौंमा भएको नेपाल औषधि थोक व्यवसायी महासंघको एक कार्यक्रममा उनले दिएको अभिव्यक्तिले स्वास्थ्य बीमाको भविष्यमाथि नै प्रश्न उठेको भन्दै सांसदहरुले सदनमा पनि आवाज उठाए ।
स्वास्थ्य बीमा बोर्डकाअनुसार २०७२ चैतमा शुरू भएको स्वास्थ्य बीमा अहिले ७७ जिल्लामै पुगिसकेको छ । देशभरका ८९ लाख जनता आवद्ध भएको स्वास्थ्य बीमामा ४८ निजीसहित ४८४ स्वास्थ्य संस्थाहरूले विमितलाई सेवा प्रदान गरिरहेको यो कार्यक्रममाथि तालुकदार मन्त्रालयकै नेतृत्वकर्ताले विवादस्पद अभिव्यक्ति दिँदा कार्यक्रम नै कतै बन्द हुने त होइन ? भन्ने संशय देखिएको छ । बोर्डका अधिकारीहरुकाअनुसार सेवाप्रदायक संस्थाहरूको अहिले १५ अर्ब तिर्न बाँकी छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले बजेटको अभावसँगै मूल्यांकन समेत समयमै गर्न नसक्दा स्वास्थ्य संस्थाहरुलाई भुक्तानी दिन नसकिएको बताए ।
उनले भने –‘स्वास्थ्य बीमा कोषमा पर्याप्त रकम छैन । असारको भुक्तानी गरेका छौं, साउन यताको हुन सकेको छैन । छितोछरितो भुक्तानीका लागि मूल्यांकन गर्न समेत गाह्रो परिरहेको छ । भुक्तानीको समीक्षा, मूल्यांकनमा ढिलाइ हुनुको कारण न्युन जनशक्ति हुनु हो । डाक्टर नर्सिङसहितको दाबी समीक्षा समितिमा २५ जना कर्मचारीहरु हुनुहुन्छ । दैनिक जसो मागदाबी ३०–४० हजारको संख्यामा आउँछ । कर्मचारीको संख्या कम हुँदा प्रमाणिकरणमा समस्या देखिएको हो ।’
बोर्डमा समस्याको कमी छैन, अस्पतालहरुले समेत भुक्तानी पाउन कठिन भइरहेका बेला स्वास्थ्यमन्त्री पौडेलले अस्पतालको वक्यौता तिर्न नसकिने अभिव्यक्ति दिएपछि झन अन्योलता बढेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology