काठमाडौँ । ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको हो ।
नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ । भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको थियो ।
ताइवान फायर डिपार्टमेन्टका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। घाइते हुनेमा एक बालक समेत रहेका छन् । भूकम्पबाट भत्किएको ताइनान सहरको नान्क्सी जिल्लामा रहेको घरको भग्नावशेषबाट उद्धार गरिएका ६ जना घाइते भएका छन् ।
भूकम्पका कारण राज्य राजमार्गमा रहेको झुवेई पुलमा पनि क्षति पुगेको छ तर कसैको मृत्युको खबर भने आएको छैन ।
मिन्ट रिपोर्टका अनुसार ताइवानमा सन् २०२३ को अप्रिलमा पनि भूकम्पको शक्तिशाली धक्का महसुस भएको थियो। हुआलियन सहरमा ७।४ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा १३ जनाको ज्यान गएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए ।
ताइवान देश प्रशान्त महासागरको रिंग अफ फायरमा अवस्थित छ, त्यसैले यस देशमा बारम्बार भूकम्प जान्छ। ताइवान दुई टेक्टोनिक प्लेटको बीचमा रहेको कारण भूकम्पको सबैभन्दा संवेदनशील क्षेत्रमा पर्छ। सन् २०१६ मा ताइवानमा गएको भूकम्पमा एक सयभन्दा बढीको मृत्यु भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology